सप्तरी - जय नेपाल फाउन्डेसन मधेस प्रदेशको आयोजनामा सप्तरीको राजविराजमा "विचार गोष्ठी" कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले प्रमुख अतिथिका रूपमा सम्बोधन गर्नुभयो। कोइरालाले वर्तमान राजनीतिक परिस्थिति, कांग्रेस पार्टीको रणनीति र मधेसका चुनौतीहरूबारे विचार राख्दै कांग्रेस पार्टीको जनसेवाप्रतिको प्रतिबद्धता दोहोर्याउनुभयो।
गोष्ठीमा कांग्रेस केन्द्रीय सदस्यहरू किरण यादव, राजीव कोइराला, दिनेश यादव, र डा. चन्द्रमोहन यादव सहभागी भएका थिए। त्यस्तै, विभिन्न जिल्लाबाट आएका कांग्रेसका जिल्ला सभापतिहरू डिगबहादुर लिम्बू (मोरङ), केदार भण्डारी (सुनसरी), नागेश्वर यादव (महोत्तरी), र रामदेव साह (सप्तरी) ले पनि आफ्ना धारणा राखेका थिए।
कार्यक्रममा मधेस प्रदेशका श्रम तथा यातायात मन्त्री कौशलकिसोर राय, नेविसंघका पूर्व केन्द्रीय अध्यक्ष रञ्जित कर्ण, तथा जय नेपाल फाउन्डेसन नेपाल च्याप्टरका अध्यक्ष बद्री अर्यालको समेत उपस्थिति थियो।
यस गोष्ठीले राजनीतिक, सामाजिक र विकाससम्बन्धी विषयमा महत्वपूर्ण छलफल गर्दै मधेस प्रदेशका नागरिकका अपेक्षा र नेतृत्वकर्ताको भूमिकाबारे स्पष्ट सन्देश दिएको छ।


















