संखुवासभा – पूर्वी नेपालको धार्मिक आस्थाको प्रतीक, पाथीभरा माता मन्दिर संखुवासभाको पाँचखपन नगरपालिका वाना भाङ्गटारमा विधिवत् स्थापना भएको छ। २०७९ साल फागुन २१ देखी सुरु भई २५ गते पण्डित खेमनाथ दाहालको नेतृत्वमा प्राणप्रतिष्ठा सम्पन्न भएको यस समारोहमा स्थानीय र आसपासका भक्तजनहरूले उत्साहजनक सहभागिता जनाएका थिए।
सिद्धदेवी पाथीभरा संरक्षण संस्थाले आयोजना गरेको यस धार्मिक कार्यक्रममा सिद्धेश्वर महादेव र अन्य देवी–देवताहरूको प्राणप्रतिष्ठासहित पूजा अर्चना सम्पन्न भएको थियो। मन्दिरको स्थापना धार्मिक मात्र नभई सांस्कृतिक धरोहरको संरक्षणको दृष्टिले पनि महत्वपूर्ण मानिएको छ।

प्रत्येक वर्ष माघ महिनाको बाला चतुर्दशीको अवसरमा यहाँ विशेष मेला आयोजना हुन्छ। मेलामा पितृको नाममा शतबीज छरी पुण्य प्राप्त गर्ने परम्परा रहेको छ। भक्तजनहरूले पाथीभरा देवीको पूजा अर्चना गर्दै, मकालु हिमाल र आसपासका हिमशृङ्खलाहरूको अनुपम दृश्यावलोकन गर्न पाउँछन्।
मन्दिर परिसर भित्र भैंसी चोकदेखि पाथीभरा मन्दिरसम्म, भिरकुना देखि पाथीभरा मन्दिरसम्म, निमनगढी देखि पाथीभरा मन्दिरसम्म, आफ्ना हजुरबुबा–हजुरआमा र पितृको सम्झनामा इच्छानुसार विरुवाको वृक्षारोपण, पाटी–पौवा, चौतारा, धर्मशाला र पानीको धारा निर्माण कार्य सुरु गरिएको छ।
पाथीभरा माता मन्दिर, वाना, संखुवासभा – पूर्वी नेपालको धार्मिक र सांस्कृतिक पहिचानमा नयाँ अध्याय थप्ने गहना बनेको छ।


















