इटहरी -विश्वप्रसिद्ध घरेलु तथा उपभोक्ता विद्युतीय उपकरण निर्माता एलजी इलेक्ट्रोनिक्सले नेपाली उपभोक्ताको आवश्यकता र जीवनशैलीलाई मध्यनजर गर्दै ‘एलजी एसेन्सियल सिरिज’ अन्तर्गतका नयाँ घरेलु उपकरण सार्वजनिक गरेको छ।
एलजी इलेक्ट्रोनिक्स सिङ्गापुर प्रालिले नेपालका आधिकारिक वितरक सीजी इलेक्ट्रोनिक्ससँगको सहकार्यमा इटहरीस्थित रमदा होटलमा आयोजित कार्यक्रममा उक्त उत्पादन शृंखलाको औपचारिक सार्वजनिक गरेको हो।

कम्पनीले सञ्चालन गरिरहेको ‘हरेक घरको खुसी, घर–घरमा एलजी’ अभियानअन्तर्गत सार्वजनिक गरिएको ‘एसेन्सियल सिरिज’ नेपाली घरपरिवारको दैनिक आवश्यकता, स्थानीय जीवनशैली, ऊर्जा–दक्षता, टिकाउपन तथा किफायती मूल्यलाई ध्यानमा राखेर विकास गरिएको जनाएको छ।
यस शृंखलाअन्तर्गत नेपाली बजारका लागि विशेष रूपमा डबल–ढोका रेफ्रिजरेटर, पूर्ण स्वचालित माथिबाट कपडा हाल्ने धुने मेसिन तथा कोठा शीततापन (एयर कन्डिसनर) बजारमा ल्याइएको छ।
कम्पनीका अनुसार डबल–ढोका रेफ्रिजरेटरमा हिम नजम्ने (फ्रोस्ट–फ्री) प्रविधि, मौसमअनुसार स्वचालित रूपमा सञ्चालन हुने स्मार्ट मोड तथा अघिल्ला मोडेलको तुलनामा २० प्रतिशत बढी तरकारी भण्डारण क्षमता उपलब्ध गराइएको छ।

त्यसैगरी, पूर्ण स्वचालित धुने मेसिनमा प्रोसिल्ड मोटर, बीएमसी आवरण, पानी प्रतिरोधी नियन्त्रण प्यानल तथा कम पानीको चापमा पनि प्रभावकारी रूपमा सञ्चालन हुने प्रविधि समावेश गरिएको कम्पनीले जनाएको छ।
यसैगरी, ‘एसेन्सियल सिरिज’ अन्तर्गतको कोठा शीततापन यन्त्रमा ऊर्जा–दक्ष शीतल तथा ताप सेवा, वातावरणमैत्री आर–३२ रेफ्रिजरेन्ट तथा न्यून ध्वनिमा सञ्चालन हुने सुविधा रहेको जनाइएको छ। परम्परागत ‘नन–इनभर्टर’ प्रणालीको तुलनामा यसले कम विद्युत् खपत गर्ने कम्पनीको दाबी छ।
कम्पनीका अनुसार एलजी एसेन्सियल सिरिज आगामी असार महिनादेखि नेपालभर बिक्री–वितरणमा आउनेछ। प्रारम्भिक मोडेलको मूल्य ४४ हजार ६९० बाट सुरु हुनेछ। उत्पादनहरू देशभरका आधिकारिक एलजी ब्रान्ड शोरुम, बहुब्रान्ड बिक्री केन्द्र तथा प्रमुख विद्युतीय व्यापार (ई–कमर्स) माध्यमबाट उपलब्ध हुने जनाइएको छ।

















