इटहरी - आर्थिक मन्दी, कमजोर बजार, उच्च बैंक ब्याजदर र नीतिगत अन्योलका कारण व्यवसाय सञ्चालन नै चुनौतीपूर्ण बन्दै गएको भन्दै इटहरीका उद्योगी–व्यवसायीहरूले सरकारलाई तत्काल व्यवसायमैत्री नीति ल्याउन दबाब दिएका छन्। निजी क्षेत्रको मनोबल खस्कँदै गएको उल्लेख गर्दै उनीहरूले लगानी, उत्पादन र रोजगारी जोगाउन सरकार गम्भीर हुनुपर्ने बताएका छन्।
उद्योग वाणिज्य संघ इटहरीको २६औँ र २७औँ वार्षिक साधारणसभाका अवसरमा बिहीबार आयोजित कार्यक्रममा सहभागी व्यवसायीहरूले आर्थिक गतिविधि सुस्त बन्दै जाँदा उद्योग–व्यवसाय धराशायी हुने अवस्था सिर्जना भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन्।
व्यवसायीहरूले अहिलेको आर्थिक अवस्थाले लगानी गर्ने आत्मविश्वास कमजोर बनाएको बताएका छन्। कर प्रणालीको जटिलता, बैंकको उच्च ब्याजदर, बजारमा घट्दो उपभोग, तरलताको अभाव तथा नीतिगत अस्थिरताले उद्योग–व्यवसाय सञ्चालन कठिन बन्दै गएको उनीहरूको भनाइ थियो।
कार्यक्रमका प्रमुख अतिथि परशुराम खापुङले मुलुकको आर्थिक विकास र रोजगारी सिर्जनाको मुख्य आधार निजी क्षेत्र भएकाले सरकार र व्यवसायीबीचको सहकार्य अझ मजबुत बनाउनुपर्ने बताए। उनले स्वदेशी उत्पादनको प्रवर्द्धन, उद्योग विस्तार तथा उत्पादनमुखी अर्थतन्त्र निर्माणमा निजी क्षेत्रको भूमिका निर्णायक रहेको उल्लेख गर्दै सरकारी नीति पनि त्यसैअनुसार केन्द्रित हुनुपर्ने धारणा राखे।
‘स्वदेशी उत्पादनको प्रवर्द्धन, उद्योग विस्तार, रोजगारी सिर्जना तथा उत्पादनमुखी अर्थतन्त्र निर्माणमा निजी क्षेत्रको भूमिका अत्यन्त महत्त्वपूर्ण छ,’ प्रदेश प्रमुख खापुङले भने।
उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष जीवन पराजुलीले आफ्नो तीन वर्षे कार्यकालमा संघले व्यवसायीका समस्या समाधान, सरकारी निकायसँग समन्वय तथा निजी क्षेत्रका साझा मुद्दा उठाउने काम गरेको बताए। उनले निजी क्षेत्रले भोगिरहेका चुनौती समाधान गर्न सरकार संवेदनशील हुनुपर्ने र व्यवसायीको आत्मविश्वास बढाउने नीतिको आवश्यकता रहेको उल्लेख गरे।
कार्यक्रममा पूर्व भूमिसुधार मन्त्री रामकुमार सुब्बा, घरेलु तथा साना उद्योग कार्यालय सुनसरीका प्रमुख राजन पाण्डे तथा आन्तरिक राजस्व कार्यालयका प्रमुख कर अधिकृत डिल्लीराम पौडेलले पनि वर्तमान आर्थिक अवस्था, कर प्रशासन तथा उद्योग–व्यवसायसँग सम्बन्धित समसामयिक विषयमा धारणा राखेका थिए।
सोही अवसरमा स्थानीय अर्थतन्त्र, उद्यमशीलता तथा सामाजिक क्षेत्रमा योगदान पुर्याएका व्यवसायी उमेश पौडेल, मनोज चौधरी, पूर्णकाजी श्रेष्ठ, विमलकुमार राठी तथा तुलसा कालाखेतीलाई सम्मान गरिएको थियो।
यसैबीच, उद्योग वाणिज्य संघ इटहरीको नयाँ नेतृत्व चयनका लागि आगामी असार २७ गते निर्वाचन हुँदैछ। अध्यक्ष पदका लागि नवराज काफ्ले र गायत्री कटवाल भण्डारी नेतृत्वका दुई प्यानल चुनावी प्रतिस्पर्धामा छन्। आगामी नेतृत्वले निजी क्षेत्रका मुद्दा अझ प्रभावकारी रूपमा उठाउने अपेक्षा व्यवसायीहरूले व्यक्त गरेका छन्।


















