इटहरी- कोशी प्रदेश सरकारले भ्रमण वर्ष मनाइरहेको छ। पर्यटक भित्र्याउन विभिन्न कार्यक्रम भइरहेका छन्। तर, प्रदेशकै प्रमुख धार्मिक गन्तव्य रहेको सुनसरीका पौराणिक तीर्थस्थल भने अझै पनि अपेक्षित प्राथमिकतामा पर्न सकेका छैनन्।
धरानको बुढासुब्बा, पिण्डेश्वर र दन्तकाली मन्दिरमा वर्षभर हजारौँ श्रद्धालु पुग्ने गरे पनि तीर्थ पर्यटनलाई व्यवस्थित रूपमा विकास गर्ने योजना, एकीकृत प्रचार र आधुनिक पूर्वाधारको अभावले धार्मिक पर्यटनको ठूलो सम्भावना उपयोग हुन नसकेको पर्यटन व्यवसायीहरू बताउँछन्।

धार्मिक पर्यटनका जानकारहरूका अनुसार यी तीनवटै मन्दिर फरक–फरक धार्मिक विश्वास र ऐतिहासिक पृष्ठभूमिसँग जोडिएका छन्। बुढासुब्बा प्रेम, आस्था र किराँत सभ्यताको प्रतीक मानिन्छ भने पिण्डेश्वर स्कन्द पुराणमा वर्णित प्राचीन शिवधामका रूपमा परिचित छ। दन्तकाली शक्तिपीठका रूपमा हिन्दु धर्मावलम्बीको प्रमुख आस्थाको केन्द्र हो।
विशेषगरी साउन, शिवरात्रि, दशैं र अन्य पर्वमा भक्तजनको उल्लेख्य भीड लागे पनि तीर्थयात्रीलाई लामो समय बस्न प्रेरित गर्ने पर्यटन संरचना अझै निर्माण हुन सकेको छैन। काठमाडौंको पूर्वतर्फ सबैभन्दा धेरै पौराणिक धार्मिक सम्पदा भएको जिल्ला सुनसरी भए पनि त्यसअनुसारको लगानी र प्रवर्द्धन हुन नसकेको पर्यटन व्यवसायीहरूको भनाइ छ।

खासगरी सुनसरीमा बराहक्षेत्र, चतराधाम, रामधुनी, विष्णुपादुका, पिण्डेश्वर, दन्तकाली र बुढासुब्बाजस्ता धार्मिक स्थललाई एउटै धार्मिक सर्किट बनाएर प्रचार गर्न सके भारतसहित तेस्रो मुलुकबाट पनि ठूलो संख्यामा धार्मिक पर्यटक भित्र्याउन सकिन्छ। धार्मिक पर्यटनमा आउने पर्यटक सामान्य घुम्न मात्र होइन, आस्था, शक्ति, मनोकामना र आध्यात्मिक अनुभूति खोज्दै आउने भएकाले त्यसअनुसारको वातावरण निर्माण आवश्यक छ।
भ्रमण वर्षमा सर्किट निर्माणको माग
पर्यटन क्षेत्रका सरोकारवालाले भ्रमण वर्षलाई सफल बनाउन धरानका बुढासुब्बा–दन्तकाली–पिण्डेश्वर, बराहक्षेत्र, रामधुनी, विष्णुपादुका र चतराधामलाई एउटै धार्मिक पर्यटन मार्गका रूपमा विकास गर्नुपर्ने सुझाव दिएका छन्।
उनीहरूका अनुसार अहिले अधिकांश भक्तजन एउटै मन्दिर दर्शन गरेर फर्किने गर्छन्। यदि यातायात, सूचना केन्द्र, गाइड सेवा, डिजिटल प्रचार, सांस्कृतिक कार्यक्रम र धार्मिक प्याकेज तयार गर्न सकिए पर्यटकको बसाइ लम्बिने मात्र होइन, स्थानीय होटल, होमस्टे, यातायात र व्यवसाय पनि प्रत्यक्ष लाभान्वित हुनेछन्।
कोशी प्रदेश सरकारले भ्रमण वर्षलाई उपलब्धिमूलक बनाउन खोजिरहेका बेला सुनसरीका प्राचीन धार्मिक धरोहरलाई प्रदेशकै धार्मिक पर्यटन गन्तव्यका रूपमा स्थापित गर्न आवश्यक रहेका जानकारहरूको भनाइ छ।















