सुनसरी। सुनसरीको देवानगञ्ज गाउँपालिका–३, नयाँहाट–कसामगञ्ज क्षेत्रमा भएको दुःखद घटनाप्रति भोक्राहा नरसिंह गाउँपालिकाले गहिरो दुःख व्यक्त गर्दै शान्ति, सामाजिक सद्भाव तथा कानुनी व्यवस्था कायम राख्न सार्वजनिक अपिल जारी गरेको छ।
गाउँपालिकाले घटनामा ज्यान गुमाएका दिवंगतप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गरेको छ। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।
गाउँपालिकाद्वारा जारी अपिलमा घटनापश्चात विभिन्न स्थानमा देखिएका तनावपूर्ण गतिविधि, सार्वजनिक तथा निजी सम्पत्तिमा भएको क्षति तथा सर्वसाधारणमा उत्पन्न त्रासप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ। संवेदनशील परिस्थितिमा कसैले पनि कानुन हातमा नलिन, संयमता अपनाउन तथा शान्ति र सामाजिक सद्भाव कायम राख्न सम्पूर्ण गाउँवासी तथा जिल्लावासीलाई आग्रह गरिएको छ।
त्यस्तै, घटनाको निष्पक्ष, पारदर्शी र तथ्यपरक अनुसन्धान गरी दोषीलाई कानुनबमोजिम कारबाही गर्न तथा जिल्लामा शान्ति, सुरक्षा र कानुनी व्यवस्था प्रभावकारी रूपमा कायम गर्न नेपाल सरकार तथा सम्बन्धित सुरक्षा निकायसँग गाउँपालिकाले आग्रह गरेको छ।
गाउँपालिकाले विविध जाति, धर्म, भाषा र संस्कृतिको साझा पहिचान नै समाजको सबैभन्दा ठूलो शक्ति भएको उल्लेख गर्दै कुनै पनि अफवाह, भ्रामक सूचना वा उत्तेजनात्मक अभिव्यक्तिको पछि नलाग्न सबैमा अनुरोध गरेको छ। साथै, सामाजिक एकता, धार्मिक सहिष्णुता र आपसी विश्वासलाई थप सुदृढ बनाउन सबै पक्षसँग सहयोगको अपेक्षा गरिएको छ।
गाउँपालिकाले सामाजिक सद्भाव, आपसी विश्वास र सहकार्य नै समृद्ध समाजको आधार भएको उल्लेख गर्दै शान्ति, एकता र भाइचारालाई थप मजबुत बनाउन सबैमा हार्दिक अपिल गरेको छ।

















