इटहरी । बाढी आएको ९ दिनपछि जीवितै उद्धार गरिएको घटनालाई विश्वका चर्चित मिडियाहरूले प्राथमिकताका साथ समाचार बनाएका छन् ।
नेपालमा आएको विनाशकारी बाढीपछि त्रिशुली–३ ‘ए’ जलविद्युत आयोजनाको सुरुङबाट ९ दिनसम्म थुनिएका दुई व्यक्तिलाई उद्दार गरिएको छ ।
उद्धार गरिएका व्यक्ति ३० वर्षीय सञ्जय साह र ४५ वर्षीय कबिर महर्जन रहेका छन् । सप्तरीका साह त्रिशूली ३ ए एच.ई.पीमा फोरम्यान (मेकानिकल)का रूपमा कार्यरत थिए । महर्जन सोही हाइड्रोपावरमा अटोमेसन प्रोजेक्टमा कार्यरत मेकानिकल सुपरभाइजर हुन् ।
यो घटनालाई अमेरिकी समाचार संस्था सीएनएन, एसोसिएटेड प्रेस (एपी), न्युयोर्क टाइम्स, बेलायती प्रसारण संस्था बीबीसी तथा रोयटर्स लगायतका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले प्रमुखताका साथ प्रकाशित गरेका हुन् ।
।
सीएनएनले बाढी आएको एक साताभन्दा बढी समयपछि नेपालको एक जलविद्युत आयोजनाको सुरुङबाट दुई जनालाई जीवितै बाहिर निकालिएको र उद्धार कार्य जारी रहेको उल्लेख गरेको छ ।
त्यस्तै, एसोसिएटेड प्रेस (एपी)ले नेपालमा आएको बाढीको नौ दिनपछि जलविद्युत आयोजनाको सुरुङमा फसेका दुई मजदुरको उद्धार गरिएको समाचार प्रकाशित गरेको छ ।
बीबीसीले घातक आकस्मिक बाढी आएको नौ दिनपछि नेपालको सुरुङबाट दुई कामदारलाई जीवितै बाहिर निकालिएको जनाएको छ ।
द न्युयोर्क टाइम्सले पनि ‘बाढीको नौ दिनपछि नेपालमा सुरुङबाट कामदारहरूको उद्धार’ शीर्षकमा समाचार प्रकाशित गर्दै गत साता आएको बाढीको विपत्तिपछि बेपत्ता सयौं मानिसको खोजी जारी रहेका बेला उद्धारकर्ताले दुई जनालाई जीवितै बाहिर निकालेको उल्लेख गरेको छ ।
रोयटर्सले पनि त्रिशूली–ए जलविद्युत आयोजनाको सुरुङबाट दुई मजदुरलाई लामो समयपछि जीवितै उद्धार गरिएको घटनालाई समाचार बनाएको छ ।

















