इटहरी - पूर्वी नेपालको पत्रकारिता क्षेत्रमा लामो समयदेखि निरन्तर प्रकाशित हुँदै आएको ब्लास्ट टाइम्स राष्ट्रिय दैनिक स्थापनाको ३२औँ वर्षमा प्रवेश गरेको छ। पत्रिका असोज २ गतेदेखि ३२औँ वर्षमा प्रवेश गरेको हो।
तीन दशकभन्दा लामो यात्राका क्रममा ब्लास्ट टाइम्स ले मुलुकका विभिन्न राजनीतिक परिवर्तन, सामाजिक उतारचढाव, प्राकृतिक विपत्ति तथा जनजीवनसँग जोडिएका विविध घटनालाई समाचारका माध्यमबाट पाठकसमक्ष प्रस्तुत गर्दै आएको छ।
समयसँगै सञ्चारको स्वरूप र प्रविधिमा व्यापक परिवर्तन आए पनि सत्य, तथ्य र विश्वसनीय सूचना प्रवाह गर्ने आफ्नो मूल दायित्वलाई पत्रिकाले निरन्तरता दिँदै आएको जनाएको छ।
पूर्वी नेपालको माटोबाट सुरु भएको पत्रिकाको यो यात्रा एउटा सञ्चार संस्थाको मात्र नभई पाठकको विश्वास, विज्ञापनदाताको साथ, शुभेच्छुकको सद्भाव तथा पत्रकार, कर्मचारी र वितरकसहित सम्पूर्ण सहकर्मीको योगदानसँग जोडिएको सञ्चालक सुनिल अधिकारीले बताएका छन्।
३२औँ वर्ष प्रवेशका अवसरमा अधिकारीले पाठकवर्ग, विज्ञापनदाता, शुभेच्छुक, पत्रकार, कर्मचारी, वितरक तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सहयोग पुर्याउने सबैप्रति आभार व्यक्त गरेका छन्।
“पत्रिका कागजमा छापिएका अक्षरहरूको संग्रह मात्र होइन, यो समाजको ऐना, जनताको आवाज र समयको दस्तावेज पनि हो,” अधिकारीले भनेका छन्।
आगामी दिनमा पनि निष्पक्ष, निर्भीक, जिम्मेवार र जनमुखी पत्रकारितालाई निरन्तरता दिँदै समाज र राष्ट्रप्रतिको दायित्व पूरा गर्ने प्रतिबद्धता उनले व्यक्त गरेका छन्।
“अक्षरहरू कहिल्यै मर्दैनन्, यदि ती जनताको विश्वासमा लेखिएका छन् भने। हाम्रो कलम रोकिएको छैन, रोकिने छैन,” अधिकारीले भने।
पूर्व क्षितिज प्रकाशन प्रालिद्वारा प्रकाशित ब्लास्ट टाइम्स राष्ट्रिय दैनिक ले ३२औँ वर्ष प्रवेशको अवसरमा सम्पूर्ण पाठक, विज्ञापनदाता, शुभेच्छुक तथा सहयात्रीप्रति धन्यवाद ज्ञापन गरेको छ।


















