इटहरी । यस वर्षको दशैं अवधिमा कोशी प्रदेशमा ४१३ सवारी दुर्घटना हुँदा २२ जनाको मृत्यु भएको छ । ७४६ जना घाइते भएका छन् । जसमा ३६ जना गम्भीर घाइते भएका छन् ।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका अनुसार सबैभन्दा धेरै मोरङमा १७० दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने २९१ जना घाइते भएका छन् । घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्मको अवधिमा ४१३ दुर्घटना हुँदा १७ जना पुरुष र दुई बालिकासहित ५ महिलाको मृत्यु भएको छ । यद्यपि यो संख्या अघिल्लो वर्षको तुलनामा कम हो ।
२०८२ सालको दशैं अवधिमा २९१ दुर्घटना हुँदा २६ जनाको मृत्यु भएको थियो । ५८ जना गम्भीर र ५०६ जना सामान्य घाइते भएका थिए ।
ट्राफिक प्रहरीका अनुसार यस वर्ष दशैंमा दुर्घटना संख्या भने बढेको छ । प्रदेशका १४ जिल्लामध्ये सबैभन्दा धेरै दुर्घटना मोरङमा भएको छ ।
दशैंभर मोरङमा सबैभन्दा धेरै १७० वटा दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने २९१ जना घाइते भएका छन् ।
सुनसरीमा ८७ वटा दुर्घटना हुँदा ८ पुरुष र २ महिला गरी १० जनाको मृत्यु भएको छ । सुनसरीमा १५६ जना घाइते भएका छन् ।
झापामा ८४ वटा दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने १३९ जना घाइते भएका छन् । उदयपुरमा ३३ वटा दुर्घटना हुँदा ४ जनाको ज्यान गएको छ । ८९ जना घाइते भएका छन् ।
इलाममा १० दुर्घटनामा २० जना घाइते भएका छन् । पाँचथरमा ७ दुर्घटनामा १२ जना, खोटाङमा ७ दुर्घटनामा ९ जना, ओखलढुंगामा ५ दुर्घटनामा ७ जना, संखुवासभामा ४ दुर्घटनामा ६ जना र ताप्लेजुङमा ३ दुर्घटनामा ६ जना घाइते भएका छन् ।
दशैंको अवधिमा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी साधनहरूमाथि पनि प्रहरीले कडाइ गरेको थियो । नियम मिच्ने २ हजार ४५७ वटा सवारी साधनलाई प्रहरीले कारबाही गरेको छ । ती सवारीबाट जरिबाना वापत २५ लाख २९ हजार रुपैयाँ राजस्व संकलन भएको ट्राफिक प्रहरीले जनाएको छ ।


















