-भोजराज घिमिरे
विराटनगर – कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकारले स्वास्थ्य क्षेत्रमा देखिएको समस्यालाई नीतिगत र कानुनी हिसाबले सुधार गर्न ठोस तयारी गरिरहेको बताएका छन्।
शनिबार विराटनगरमा आयोजित २४औं राष्ट्रिय दन्त सम्मेलनको उद्घाटन गर्दै मुख्यमन्त्री कार्कीले स्वास्थ्य सेवा सुधारलाई प्राथमिकता दिइरहेको प्रदेश सरकार स्वास्थ्य क्षेत्रमा भिन्नै स्वास्थ्य ऐन ल्याउने तयारीमा रहेको उल्लेख गरे। “हामी नीतिगत र कानुनी हिसाबले सुधार गर्ने तयारीमा छौं,” उहाँले भन्नुभयो।
मुख्यमन्त्री कार्कीले स्रोतसाधनले पुगेमा प्रदेशका अस्पतालहरूमा दन्त चिकित्सक नियुक्ति गर्ने योजना पनि अघि सारे। साथै, नेपालमा रहेका दन्त चिकित्सकहरूलाई विदेश पलायन हुनबाट रोक्न प्रदेशका अस्पतालहरूको सुधार र व्यवस्थापकिय क्षमतामा सुधार गर्नु आवश्यक रहेको धारणा व्यक्त गरे।
दन्त सम्मेलनमा देशभरका करिब तीन सय दन्त चिकित्सकहरूको उपस्थिति रहेको छ, जसमा १६ जना वरिष्ठ दन्त चिकित्सकहरूले नयाँ प्रविधि र हालको अवस्थाबारे प्रस्तुति दिने तयारी गरेका छन्। सम्मेलनमा दाँतसम्बन्धी उपचारका मेसिन र विभिन्न प्रविधिका उपकरणहरूको प्रदर्शनीसमेत गरिएको छ। आयोजकहरूले सम्मेलनमा आगामी दिनमा हुने नयाँ काम, प्रविधि र उपचारका सन्दर्भमा छलफल हुने जानकारी दिएका छन्।


















