काठमाडौं: नेपालमा पछिल्लो समय लगातार परेको अविरल वर्षाका कारण आएको बाढी र पहिरोले ठूलो जनधनको क्षति पुर्याएको छ। गृह मन्त्रालयको पछिल्लो विवरण अनुसार, बाढी र पहिरोबाट मृत्यु हुनेको संख्या १०० पुगेको छ भने ६५ जना अझै बेपत्ता छन्। यस प्राकृतिक प्रकोपमा ४० जना घाइते भएका छन्।
सबैभन्दा बढी क्षति काठमाडौं उपत्यकामा भएको छ, जहाँ ४८ जनाले ज्यान गुमाएका छन्। काठमाडौं, भक्तपुर, र ललितपुरमा गरी १५ जना घाइते भएका छन् भने २१ जना बेपत्ता रहेको मन्त्रालयले जनाएको छ। बिहीबारदेखि परेको वर्षाले उपत्यकामा व्यापक क्षति पुर्याएको हो।
प्रकोप प्रभावित क्षेत्रहरू:
कोशी प्रदेश: १३ जनाको मृत्यु, ३ जना घाइते र ९ जना बेपत्ता।
मधेस प्रदेश: २ जनाको मृत्यु, १ जना बेपत्ता।
बागमती प्रदेश: ३७ जनाको मृत्यु, २२ घाइते र ३२ जना बेपत्ता।
गण्डकी प्रदेश: कुनै मानवीय क्षति नभएको।
लुम्बिनी प्रदेश: २ जना बेपत्ता।
प्रहरीको अनुसार, बाढी र पहिरोबाट १९५ वटा घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्। उद्धार कार्यमा तीव्रता दिइएको छ, र अहिलेसम्म २,९०५ जनाको सकुशल उद्धार गरिएको छ।
सरकारले बाढी र पहिरो प्रभावित क्षेत्रमा उद्धार र राहत कार्यहरूलाई तीव्र बनाएको छ, तर अझै पनि बेपत्ता व्यक्तिहरूको खोजी कार्यमा चुनौतीहरू छन्। बर्षाका कारण थप पहिरो जान सक्ने खतरा रहेकोले प्रभावित क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको छ।


















