विराटनगर -   वातावरण संरक्षण र स्वावलम्बन प्रवर्द्धन गर्ने उद्देश्यले हाम्रो प्रयास, विराटनगर-७ द्वारा आयोजित कपडाको झोला बनाउने तालिम आज सम्पन्न भएको छ। विराटनगर महानगरपालिकाको नगर कार्यपालिकाको कार्यालयको सहयोगमा फागुन ३ गतेदेखि ७ गतेसम्म साकम्बरी भवन, विराटनगर-७ मा तालिम सञ्चालन गरिएको थियो।

तालिम उद्घाटन समारोहमा वडा नं. ७ का अध्यक्ष मधुबाबु तिवारी प्रमुख अतिथि रहनुभएको थियो। हाम्रो प्रयासकी अध्यक्ष सावित्री ढकाल सभापति रहनुभएको उक्त कार्यक्रममा विशेष अतिथिका रूपमा पूर्व प्रमुख न्यायाधिवक्ता अधिवक्ता रुपेश कोइराला, नेपाल पत्रकार महासंघ कोशी प्रदेश उपाध्यक्ष कुमोद अधिकारी, नेपाल पत्रकार महासंघ कोशी प्रदेश परिषद् सदस्य भोजराज घिमिरे, नेपाली कांग्रेस विराटनगर-७ का सभापति तथा समाजसेवी अशोक बिष्ट, तथा हलेसी महिला सशक्तिकरण सेवा केन्द्रकी अध्यक्ष सीता बराल रहनुभएको थियो।

तालिममा १५ जना सहभागी थिए, जसलाई कपडाको झोला बनाउने सीप प्रदान गरिएको थियो।तालिम को प्रशिक्षण मालती आचार्य ले दिनु भाको थियो । तालिम समापन समारोहमा सहभागीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो। प्रमुख अतिथि तिवारीले झोलाको बजार व्यवस्थापनमा सहयोग गर्ने प्रतिबद्धता जनाउँदै प्लास्टिकको झोलाभन्दा कपडाको झोला वातावरणमैत्री तथा दीर्घकालीन रूपमा उपयोगी हुने बताउनुभयो। साथै, सहभागीहरूले सिकेको सीप आर्थिक उपार्जनको अवसरमा रूपान्तरण गर्न सकिने कुरामा पनि उहाँले जोड दिनुभयो।

"यस्ता कार्यक्रमहरू रोजगारी सिर्जना गर्नका लागि महत्वपूर्ण छन्। स्थानीय तहको सहयोग भएमा महिलाहरू आत्मनिर्भर बन्न सक्छन्," आयोजक संस्थाकी अध्यक्ष सावित्री ढकालले बताउनुभयो।

सहभागीहरूले स्वदेशी उत्पादनलाई प्रवर्द्धन गर्दै सिकेको सीपलाई व्यवहारिक रूपमा प्रयोग गर्ने प्रतिवद्धता जनाए। आयोजक संस्थाका अनुसार यस्ता तालिमलाई निरन्तरता दिने योजना रहेको छ।

संस्थाकी कोषाध्यक्ष ज्ञ्यानु राउत थापाले सहभागीहरूलाई धन्यवाद ज्ञापन गर्नुभयो। संस्थाकी सदस्य सबिना खतिवडाले संस्थाको उद्देश्य र हालसम्म भएका गतिविधिहरूको बारेमा जानकारी गराउनुभयो। हाम्रो प्रयासकी सदस्यहरू सबिना खतिवडा र गीता पोखरेलले आगामी दिनमा पनि यस्ता सीपमूलक तालिमहरू सञ्चालन गर्दै जाने जानकारी गराए।

कार्यक्रम सञ्चालन हाम्रो प्रयासकी सचिव बाला पोखरेल ले गर्नुभएको थियो भने स्वागत मन्तव्य सह-सचिव प्रमिला कर्ण ले दिनुभएको थियो।