विराटनगर– महिलाहरूलाई आत्मनिर्भर बनाउने उद्देश्यसहित हलेसी महिला सशक्तिकरण सेवा केन्द्र, विराटनगर-८ द्वारा आयोजित बेहुली जुत्ता-चप्पल बनाउने २० दिने तालिम विराटनगरमा सुरु भएको छ। उक्त तालिम २०८१ फागुन २० गतेदेखि चैत ९ गतेसम्म सञ्चालन हुनेछ।
विशेष अतिथिहरूको उपस्थिति
तालिमको उद्घाटन समारोहमा विराटनगर महानगर प्रमुख नागेश कोइराला प्रमुख अतिथि रहेका थिए। विशिष्ट अतिथिका रूपमा न्यायधिवक्ता रूपेश कोईराला, समाजसेवी महिला नेतृहरू अमरटोल टोल विकास संस्थाकी अध्यक्ष बिन्दा कुमारी नेपाल, हाम्रो प्रयासकी अध्यक्ष सावित्रा ढकाल, उर्मिला रुपाखेती, कल्पना राउत लगायतका व्यक्तित्वहरूको उपस्थिति थियो।
कार्यक्रमको अध्यक्षता हलेसी महिला सशक्तिकरण सेवा केन्द्रकी अध्यक्ष सीता बराल ले गरेकी थिइन्। तालिमको प्रशिक्षण अनुभवी प्रशिक्षक मालती आचार्य ले प्रदान गर्नेछिन्।
महिलाहरूलाई आर्थिक रूपमा सबल बनाउन तालिम आवश्यक
उद्घाटन समारोहमा वक्ताहरूले सीप सिकेर आत्मनिर्भर बन्नु महिलाहरूका लागि आवश्यक रहेको धारणा राखे। महानगर प्रमुख नागेश कोइरालाले सीपमूलक तालिमहरू महिलाहरूलाई आत्मनिर्भर बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बताए।
"घरमा टेलिभिजन हेरेर समय खेर फाल्नु भन्दा प्राविधिक सीप सिकेर आयआर्जन गर्नु महिलाहरूका लागि राम्रो विकल्प हो। यस्ता तालिमहरूले महिलाहरूलाई आर्थिक रूपमा सशक्त बनाउन सहयोग गर्छ," आयोजक संस्थाकी अध्यक्ष सीता बराल ले बताइन्।
१६ जना सहभागी, २० दिनसम्म प्रशिक्षण
उक्त तालिममा १६ जना महिला सहभागी छन्, जसले बेहुली जुत्ता-चप्पल बनाउने व्यावसायिक सीप सिक्नेछन्। तालिम सम्पन्न भएपछि महिलाहरूले स्वरोजगारका अवसरहरू सिर्जना गर्न सक्ने आयोजक संस्थाले विश्वास व्यक्त गरेको छ।
तालिम चैत ९ गते समापन हुने कार्यक्रम रहेको छ। आयोजकका अनुसार, भविष्यमा पनि यस्ता तालिमहरूलाई निरन्तरता दिई महिलाहरूलाई आर्थिक रूपमा सबल र आत्मनिर्भर बनाउने अभियानलाई अघि बढाइने छ।


















