विराटनगर– नेपाल पत्रकार महासंघ मोरङको आयोजनामा कोशी प्रदेश सरकारको सहकार्यमा सञ्चार क्षेत्रमा महिला पत्रकारहरूको भूमिका, चुनौती, अवसर र सशक्तीकरणबारे विशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो।
कार्यक्रममा वक्ताहरूले लैंगिक समानता, सुरक्षित कार्यस्थल, नीति निर्माणमा महिलाको सहभागिता र संस्थागत सुधारको आवश्यकता औँल्याए। कोशी प्रदेशकी राज्यमन्त्री सृजना राईले लोकतन्त्र प्रवर्द्धनका लागि महिलाको अर्थपूर्ण सहभागिता अनिवार्य रहेको बताइन्।
सामाजिक विकास मन्त्रालयका सचिव हेमराज तामाङले महिला पत्रकारहरूको सुरक्षा, तालिम र सशक्तीकरणका लागि आगामी बजेटमा विशेष व्यवस्था गर्ने प्रतिबद्धता जनाए।
नेपाल पत्रकार महासंघ मोरङकी अध्यक्ष सुशिला पाठकको अध्यक्षतामा सम्पन्न कार्यक्रममा महिला पत्रकारहरूको उपस्थिति मजबुत बनाउन ठोस रणनीति आवश्यक रहेको निष्कर्ष निकालियो।


















