मोरङ - गृह मन्त्रालयले सात जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) हरूको सरुवा गरेको छ। मन्त्रालयले विभिन्न जिल्लाका प्रजिअहरूको स्थानान्तरण गर्दै नयाँ प्रजिअहरूको नियुक्ति गरेको हो।
गृह मन्त्रालयका अनुसार, उदयपुर, नवलपरासी (बर्दघाट सुस्ता पूर्व), बागलुङ, अछाम, कपिलवस्तु, सुर्खेत र पर्वत जिल्लाका प्रजिअहरू परिवर्तन गरिएको छ।
सरुवा विवरण अनुसार:
सुर्खेत: गृह मन्त्रालयका सहसचिव जगदीश्वर उपाध्याय नयाँ प्रजिअ नियुक्त भएका छन्।
नवलपरासी (बर्दघाट सुस्ता पूर्व): भविश्वर पाण्डे प्रजिअको रूपमा पठाइएका छन्। यसअघि कार्यरत अरुण पोखरेल गृह मन्त्रालयमा तानिएका छन्।
बागलुङ: कुमान सिंह गुरुङ नयाँ प्रजिअ बनेका छन्। नेत्र प्रसाद सुवेदी गृह मन्त्रालय तानिएका छन्।
कपिलवस्तु: दिल कुमार तामाङ प्रजिअमा नियुक्त भएका छन् भने पूर्व प्रजिअ विश्व प्रकाश अर्याल गृह मन्त्रालयमा तानिएका छन्।
अछाम: गृह मन्त्रालयका आनन्द सारू अछामका नयाँ प्रजिअ भएका छन्। शिव प्रसाद लम्साल गृह मन्त्रालय तानिएका छन्।
पर्वत: उदयपुरका प्रजिअ हरि प्रसाद घिमिरे पर्वतमा पठाइएका छन्। केदारप्रसाद शर्मा गृह मन्त्रालय तानिएका छन्।
उदयपुर: गृह मन्त्रालयका प्रेम प्रसाद लुईटेल उदयपुरको नयाँ प्रजिअ बनेका छन्।
गृह मन्त्रालयका अनुसार, प्रशासनिक व्यवस्थापनलाई चुस्तदुरुस्त बनाउने र सेवा प्रवाहलाई प्रभावकारी बनाउन सरुवा गरिएको हो।


















