विराटनगर– कोशी प्रदेशका ढाका उद्योगलाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित ढाका महोत्सव २०८१ विराटनगरमा सुरु भएको छ। नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश समितिको महिला उद्यमी विकास समिति द्वारा आयोजित यो महोत्सव चैत ७ गते बिहीबारदेखि सुरु भई चैत ९ गते शनिबारसम्म सञ्चालन हुनेछ।
विराटनगरस्थित जैन श्वेताम्बर तेरापंथ सभा भवनको प्राङ्गणमा आयोजित महोत्सवको उद्घाटन कोशी प्रदेशका माननीय मुख्यमन्त्री हिक्मत कुमार कार्कीले गरेका हुन्। उद्घाटन समारोहमा नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले सभापतित्व गरेका थिए।
४० ढाका उद्योगको सहभागिता
महोत्सवमा कोशी प्रदेशभरिका ४०वटा ढाका उद्योगहरू सहभागी भएका छन्। कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले ढाका उद्योगलाई प्रवर्द्धन गर्न आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा विशेष व्यवस्था गरिने प्रतिबद्धता व्यक्त गरे। उनले ढाका उद्योगहरूले भोगिरहेको समस्या समाधानका लागि राय–सुझाव माग्दै नीति निर्माण प्रक्रियामा समेट्ने बताए।
नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश समितिका अध्यक्ष राजेन्द्र राउतले ढाका महोत्सवलाई प्रत्येक वर्ष निरन्तरता दिने योजना रहेको बताए। महिला उद्यम समिति सभापति सरु केसीले कोशी प्रदेशका ढाका उद्योग सञ्चालन गरिरहेका महिला उद्यमीहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा स्थापित गराउने उद्देश्य महोत्सवको रहेको बताइन्।
ढाका उद्योगको प्रवर्द्धनमा जोड
कार्यक्रममा कोशी प्रदेशका उपसभामुख श्रृजना दनुवार, सामाजिक विकास मन्त्रालयका सचिव हेमराज तामाङ, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव विशाल घिमिरे, नेपाल उद्योग वाणिज्य महासंघ केन्द्रीय समितिका महिला विभाग प्रमुख कमला श्रेष्ठ, मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुराना र मोरङ चेम्बर अफ कमर्सका अध्यक्ष यदव पोखरेललगायतका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति थियो।
उनीहरूले ढाका उद्योगको संरक्षण, प्रवर्द्धन र बजारीकरण गरी स्थानीय उद्यमीहरूलाई सशक्त बनाउने महोत्सवको उद्देश्य सफल रहोस् भन्ने शुभकामना व्यक्त गरे।
ढाका महोत्सव २०८१ ले कोशी प्रदेशको ढाका उद्योगलाई नयाँ उचाइमा पुर्याउने र महिला उद्यमशीलतालाई थप सशक्त बनाउने विश्वास लिइएको छ।


















