विराटनगर– महिला हिंसा, दाइजो प्रथा र बालविवाहविरुद्ध जनचेतना फैलाउने उद्देश्यले विराटनगर महानगरपालिका वडा नं. १२, १३, र १५ का ३५ जना सहभागीलाई लक्षित गरी सचेतनामूलक तालिम सम्पन्न भएको छ।
श्री सयपत्री महिला सेवा केन्द्रको आयोजनामा तथा विराटनगर महानगरपालिकाको सहयोगमा आयोजित तालिममा प्रशिक्षक छाया राईले कानुनी तथा सामाजिक उपायबारे प्रशिक्षण दिइन्। विशेष अतिथिहरू भवानी शंकर चापागाईं र मिडियाकर्मी कमला कडेलले महिलामाथि हुने हिंसाका कारण र समाधानबारे प्रकाश पारे।
कार्यक्रमको सभापतित्व सयपत्री महिला सेवा केन्द्रकी अध्यक्ष मञ्जु चापागाईंले गरिन् भने सञ्चालन कविता निरौलाले गरेकी थिइन्। सहभागीहरूले महिलाको अधिकार संरक्षणका लागि यस्ता सचेतनामूलक कार्यक्रम आवश्यक रहेको बताएका छन्।


















