इटहरी खबर आजदेखि आठौँ वर्षमा प्रवेश गरेको छ । २०७६ साल कात्तिक ४ गतेदेखि सञ्चालनमा आएको इटहरी खबरले आफ्नो यात्रा शुरु गर्दा इटहरीमा मात्रै होइन, कोशी प्रदेशमै अनलाइन सञ्चारमाध्यमको उपस्थिति निकै न्यून थियो । त्यसयता सञ्चार प्रविधिमा आएको तीव्र विकाससँगै नयाँ मिडियाको विस्तार भइरहेको छ । बदलिँदो परिवेशसँगै इटहरी खबरले पनि आफ्नो सञ्चारकर्मलाई थप प्रभावकारी, परिणाममुखी र विश्वसनीय बनाउँदै अघि बढिरहेको छ । आठौँ वर्ष प्रवेशको यो अवसर हाम्रा लागि खुसीसँगै आत्मसमीक्षा गर्ने र आगामी यात्राका लागि नयाँ सङ्कल्प गर्ने घडी पनि हो ।
पछिल्लो समय सामाजिक सञ्जालको बढ्दो प्रभावले परम्परागत तथा डिजिटल सञ्चारमाध्यमको विज्ञापन बजारमा चुनौती थपेको छ । यस्तो अवस्थामा पनि अनलाइन सञ्चारमाध्यमप्रति विश्वास राख्ने विज्ञापनदाता, हामीलाई निरन्तर साथ दिने पाठक तथा विभिन्न सङ्घसंस्थाको भरोसाले इटहरी खबरको यात्रालाई निरन्तरता दिन ऊर्जा प्रदान गरेको छ । यो विश्वास हाम्रो पूँजी हो । यसप्रति हामी हार्दिक आभार व्यक्त गर्दै आगामी दिनमा पनि पाठकको विश्वास र विज्ञापनदाताको भरोसा कायम राख्न अझ जिम्मेवार, व्यावसायिक र प्रतिबद्ध भएर लाग्ने प्रण गर्दछौँ ।
सूचना प्रविधिको विकाससँगै कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोगले सञ्चारकर्मलाई सहज, छिटो र प्रभावकारी बनाउने सम्भावना बढाएको छ । तर, यसको दुरुपयोगबाट गलत सूचना, भ्रामक सामग्री र अफवाह फैलिने जोखिम पनि उत्तिकै बढेको छ । प्रविधिको प्रयोगले सूचना सम्प्रेषणलाई सहज बनाएको छ । सत्यको खोजी, तथ्यको पुष्टि र पत्रकारिताको नैतिक जिम्मेवारीको महत्त्व घटेको छैन । बरु यस्ता चुनौतीका बीच जिम्मेवार पत्रकारिताको आवश्यकता अझ बढेको छ । त्यसैले तथ्यमा आधारित समाचार, सत्यतथ्यको पुष्टि र जनउत्तरदायी पत्रकारितालाई प्राथमिकतामा राख्दै गलत सूचना तथा भ्रमविरुद्ध निरन्तर सचेत रहने हाम्रो प्रतिबद्धता छ ।
संयोग नै मान्नुपर्छ, इटहरी खबरको आठौँ वर्ष प्रवेश र यस वर्षको विजयादशमीको टीका एकै दिन परेको छ । नयाँ उत्साह, उमङ्ग र सकारात्मक सङ्कल्पको प्रतीक विजयादशमीले हाम्रो यात्रालाई पनि थप ऊर्जा प्रदान गरेको छ । यस सुखद अवसरमा हाम्रा पाठक, विज्ञापनदाता, शुभेच्छुक, सहयोगी तथा सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ ।
आठौँ वर्ष प्रवेशको यो घडीमा हामीलाई विश्वास छ, पाठकको साथ, शुभेच्छुकको सद्भाव र विज्ञापनदाताको भरोसालाई आत्मसात् गर्दै इटहरी खबर आगामी दिनमा अझ विश्वसनीय, जिम्मेवार र प्रभावकारी सञ्चारमाध्यमका रूपमा स्थापित हुँदै जानेछ । हाम्रो यात्रा केवल समाचार सम्प्रेषणमा सीमित रहनेछैन; समाजलाई सुसूचित गर्ने, जनसरोकारका विषय उठाउने र सकारात्मक परिवर्तनका लागि खबरदारी गर्ने दायित्वप्रति पनि उत्तिकै प्रतिबद्ध रहनेछौँ ।
शुभ विजयादशमी ।


















