इटहरी । इटहरी उपमहानगरपालिका वडा नम्बर २० ले आर्थिक अवस्था कमजोर भएका परिवारलाई दशैं पर्वलाई लक्षित गर्दै खाद्यान्न वितरण गरेको छ ।
खाद्यान्न सहयोग पाएपछि स्थानीयवासीले खुसी व्यक्त गर्दै पर्वका बेला प्राप्त सहयोगले आफूहरूलाई ठूलो राहत मिलेको बताएका छन् ।
वडाध्यक्ष मणिराम श्रेष्ठका अनुसार वडाले प्रत्येक वर्षझैँ यस वर्ष पनि आर्थिक अवस्था कमजोर भएका परिवारलाई दशैंमा मिठोमसिनो खान सहज होस् भन्ने उद्देश्यले खाद्यान्न सहयोग गरेको हो । वडाले २० भन्दा बढी परिवारलाई दशैंका लागि चामल र मासु वितरण गरेको उहाँले बताउनुभयो ।
दशैंजस्तो महान् पर्वमा आर्थिक अभावका कारण खानपिनमा समस्या नहोस् र विपन्न परिवारले पनि खुसीका साथ पर्व मनाउन सकून् भन्ने उद्देश्यले सहयोग कार्यक्रम सञ्चालन गरिएको वडा अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।
खाद्यान्न वितरण कार्यक्रममा वडा सदस्य बहादुर तामाङ, समाजसेवी लगायतको सहभागिता रहेको थियो ।


















