भद्रपुरः झापाको झापा गाउँपालिका–१ सालमाराबाट १५० ग्राम १४० मिलिग्राम लागूऔषध खैरो हेरोईन सहित २ जनालाई पक्राउ गरिएको छ ।
पक्राउ पर्नेमा झापा गाउँपालिका–१ सालमाराका ३६ वर्षीय नसिम अक्तर मिया र ३० वर्षीय सलमान मिया रहेका छन् । विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय कुमरखोद र लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
सालमारा स्थितमा बीआर ३७ एए ५३८० र मे. ७ प ३ नम्बरको मोटरसाईकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरुमाथि शंका लागी नियन्त्रणमा लिन खोज्दा भाग्ने क्रममा प्रहरीले पेस्तोलबाट २ राउण्ड हवाई फायर गरी दुवै जनालाई नियन्त्रणमा लिएको थियो ।
नियन्त्रणमा लिए पश्चात उनीहरुको शरिर खानतलासी गर्ने क्रममा प्लास्टिकमा पोको पारेर लुकाई राखेको अवस्थामा १५० ग्राम १४० मिलिग्राम खैरो हेरोईन बरामद भएको थियो ।
पक्राउ परेका दुवै जनाको सम्बन्धमा जिल्ला प्रहरी कार्यालय झापाबाट थप अनुसन्धान भइरहेको बताइएको छ ।


















