काठमाडौं । केही समययताबाट फुर्सदमा रहेका अभिनेता आर्यन सिग्देल ‘सायरा’मा अनुबन्धित भएका छन् । आइतबार मात्र निर्माण कम्पनी डीबिआर मिडिया एन्ड मुभिज प्रालिसँग नयाँ फिल्मका लागि उनले सम्झौता गरेका हुन् ।

रघु परियार प्रस्तुतकर्ता रहेको फिल्म सोसल ड्रामा र लभस्टोरीमा तयार हुने जनाइएको छ । पछिल्लो समय पर्दामा नदेखिएका आर्यन फिल्मको विषयवस्तुले आकर्षित भएको बताउँछन् ।  

आगामी असोजबाट छायांकनको तयारीमा रहेको फिल्म ‘सायरा’को ९० प्रतिशत छायांकन अस्ट्रेलिया र १० प्रतिशत नेपालमा हुने जनाइएको छ । यो चलचित्र दशैँपछिबाट छायांकन सुरु गरिने भएको छ ।

फिल्मका अन्य कलाकार भने चाँडै नै चयन गरिने छ । चलचित्रको कथा रघुले नै लेखेका हुन् भने निर्देशक भारतीय रहने जनाइएको छ ।