इटहरीः भदौ १० गते भोटेकोशीको बाढीमा परी बेपत्ता भएका इटहरी–२० तरहराका खड्का दम्पत्तिको कुशको शव बनाएर शुक्रबार इटहरीको बुढी खोलामा दाहसंस्कार गरिएको छ ।

कैलाश मानसरोवरको दर्शन गर्न गएका अम्बरकाजी खड्का र उनकी श्रीमती मनकुमारी खड्का बेपत्ता भएपछि थप कुनै जानकारी नआएपछि धार्मिक विधिअनुसार आज कुशको शव बनाएर अन्त्येष्टि गरिएको हो ।

भारतीय सेनाका पूर्वहवल्दारसमेत रहेका अम्बरकाजीले भदौ १० गते बिहान कान्छा छोरा सुवास, जेठा छोरा सञ्जय र ९० वर्षीय बुवा चन्द्रबहादुरसँग ह्वाट्सएपमा भिडियो कल गरेका थिए । आफू पुगेको ठाउँका दृश्य देखाउँदै उनले परिवारसँग खुशी साटेका थिए ।

त्यसको केही समयपछि खड्का दम्पत्तिसहित उनीहरु सवार गाडी बाढीमा बेपत्ता भएको थियो । चीन सीमा नजिकै रहेको रसुवा अध्यागमन कार्यालय क्षेत्र आसपास पुगेपछि उनीहरूसँग परिवारको सम्पर्क हुन सकेको थिएन ।

लामो समयसम्म दम्पत्तिको कुनै खबर नआएपछि धार्मिक विधिअनुसार कुशको शव बनाएर अन्तिम संस्कार गर्ने निर्णय गरिएको थियो ।