काठमाडौं । सुदर्शन थापाले निर्देशन गरेको फिल्म ‘सम्हालिन्छ कहिले मन’ को गीत सार्वजनिक भएको छ। 

सोमबार ‘हराएँ हराएँ’ बोलको गीत सार्वजनिक गरिएको हो। गीतमा ताराप्रकाश लिम्बु र अनु चौधरीको स्वर रहेको छ भने भिडिओमा अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री पूजा शर्मालाई देख्न सकिन्छ। रोमान्टिक गीतलाई कविराज गहतराजले कोरियोग्राफी गरेका हुन्।

अनन्द अधिकारीको शब्द रहेको गीतमा गायक लिम्बुको संगीत छ भने सहास शाक्यको संगीत संयोजन रहेको छ।
 
त्रिकोणात्मक प्रेम सम्बन्धलाई देखाइएको फिल्ममा पूजा र आकाशसँगै सोनम तोप्देन, सरोज खनाल, धिरन शाक्य, गौरी मल्ललगायत कलाकारको अभिनय देख्न सकिन्छ। कभर गायक सोनम तोप्देनले यही फिल्मबाट अभिनयमा डेब्यू गर्दैछन्। उनी बलिउडका चर्चित गीतमा कभर संस्करणमा रूचाइएका गायक हुन्। 

यो फिल्म गायक सुगम पोखरेलको ‘सम्हालिन्छ कहिले मन’को गीतको नाम सापटी लिँदै तयार पारिएको हो। फिल्ममा उनको स्वरमा शीर्ष गीत सुन्न सकिन्छ।

बी इन्टरनेसनलको ब्यानरमा निर्माण भएको फिल्मका निर्माता अमित बस्नेत, परी राना र अजितकुमार थापा छन्। फिल्मको कथा महेश दवाडीले तयार पारेका हुन्।
 
बेलायत र नेपालमा छायांकन गरिएको म्युजिकल लभस्टोरी फिल्मलाई दर्शकले रूचाउने निर्माण टिमको विश्वास छ। सौरभ लामाले छायांकन गरेको फिल्मलाई अर्जुन जिसीले सम्पादन गरेका छन्।

यो फिल्म भदौ १७ गतेदेखि प्रदर्शनमा आउँदैछ ।