काठमाडौं । नेपाली चलचित्र ‘प्रेमगीत–३’ हिन्दी भाषामा स्वरांकन गरेर नेपालसँगै भारतलगायत विभिन्न मुलुकमा एकै दिन रिलिज गरिने तयारी हुँदै छ । नेपालसँगै भारतमा आगामी ७ असोजमा ‘प्रेमगीत ३’ रिलिज तयारी हुँदै गर्दा बलिउडका विभिन्न कलाकारका स्वरमा रेकर्ड गरेर गीतसमेत रिलिज गरिएको छ ।

निर्माण टोलीले भारतको जी म्युजिकको युट्युब च्यानलबाट हिन्दी भाषाको चारवटै गीत सोमबार रिलिज गरेको छ । निर्माता तथा निर्देशक सन्तोष सेनले रिलिज मिति नजिकिँदै गरेकाले चारवटै गीत एकसाथ रिलिज गर्नुपरेको बताएका छन् । यी गीतमा भारतीय गायकगायिकाले स्वर दिएका छन् ।

‘जहान भी जाओ आई सनम’मा गायक राहत फतेह अली खानको स्वर र देवराजको संगीत गीत हरि शंकर सुफीले लेखेका हुन् ।

त्यस्तै, दोस्रो गीत ‘कोई न कोई नाता है‘’मा जुबिन नौटियाल, पवनदीप राजनको संगीत र सुभाष कालेको शब्द रचना छ ।

फिल्मको तेस्रो गीत ‘तुम प्यार हो‘’ मा पलक मुच्छल र अंकित तिवारीको स्वर छ । जसमा असलम कीको संगीत र कुमारको शब्द छ । चौंथो गीत ‘मुझ में बस जाना‘’मा पलक मुच्छल र देव नेगीको स्वर छ । नेपाली संगीतकार कल्याण सिंहको संगीत रहेको यो गीत ए एम तुराजले लेखेका हुन् ।

स्वर्गीय छेतेन गुरुङ र सन्तोष सेनले निर्देशन गरेका चलचित्रमा प्रदीप खड्का, क्रिस्टिना गुरुङ, मनीष राउत, शिव श्रेष्ठ, अनुभव रेग्मी, सम्मृद्धि शाही ठकुरी, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, पुष्कर कार्की, प्रेम पुरी, लक्ष्मी वर्देवा, योगिशा खत्रीलगायतको अभिनय छ । मनाङमा खिचिएको चलचित्र राजेश श्रेष्ठले छायांकन गरेका हुन् ।