काठमाडौं । कक्षा १२ को ग्रेड वृद्धि परीक्षा आगामी असोज ३० र ३१ गते हुने भएको छ । शुक्रबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले कक्षा १२ को परीक्षाफल प्रकाशित गर्दै ग्रेड वृद्धिको परीक्षा मिति पनि सार्वजनिक गरेको हो ।
यस वर्ष परीक्षा उत्तीर्ण हुनका लागि प्रयोगात्मक परीक्षामा ४० र सैद्धान्तिक परीक्षामा ३५ प्रतिशत ल्याउनै पर्ने व्यवस्था गरिएको छ । त्योभन्दा कम अंक ल्याएको खण्डमा पुनःपरीक्षा दिनुपर्ने बोर्डले जनाएको छ ।
यस वर्ष नियमिततर्फ ३ लाख ६३ हजार ८, ग्रेड वृद्धितर्फ ३० हजार ४५ र आंशिकतर्फ ३ हजार १३२ गरी कूल तीन लाख ९६ हजार १८५ विद्यार्थीले परीक्षामा सहभागिता जनाएका थिए ।
तीमध्ये नतिजामा ४ हजार १७९ जनाले ३.६१ देखि ४ जीपीए, ३० हजार १०७ जनाले ३.२१ देखि ३.६० जीपीए, ६५ हजार २८४ जनाले २.८१ देखि ३.२० जीपीए, ६४ हजार ९३ जनाले २.४१ देखि २.८० जीपीए, १० हजार ९०० जनाले २.०१ देखि २.४० जीपीए र ३५ जनाले १.६१ देखि २ जीपीए ल्याएका छन् ।
यस वर्ष १ लाख ८८ हजार विद्यार्थी नन ग्रेडिङमा परेका छन् । त्यसमध्येमा १ लाख ३० हजार ८७८ जनाले मात्रै ग्रेड वृद्धि परीक्षामा सहभागी हुन पाउने बोर्डले जनाएको छ ।
दुई विषयमा निर्धारित प्रतिशतभन्दा कम ल्याउने विद्यार्थीले पुनःग्रेड वृद्धि परीक्षा सहभागी हुन पाउनेछन् । बोर्डले देशभरका एक हजार २९२ परीक्षा केन्द्रमा परीक्षा केन्द्रमा गत जेठ १६ देखि २५ गतेसम्म परीक्षा सञ्चालन गरेको थियो ।


















