एजेन्सी । “के गर्ने बच्चाले खाना खाँदैन । कम से कम मोबाइल हेरेर खाना त खान्छ ।” अहिले धेरै अभिभावकको मुखबाट सुनिने बोली यही छ । धेरै जसो घरमा अहिले बच्चाहरुलाई खाना खुवाउनका लागि मोबाइलकै सहारा लिने गरेको देखिन्छ । चाहे बच्चा जुनसुकै उमेरको हुन सक्छ । खासमा बच्चालाई मोबाइल देखाएर खाना खुवाउँदा उसको मानसिक तथा शारीरिक स्वास्थ्यमा नराम्रो असर पर्न सक्छ । जसमा विशेषज्ञहरुले भनेका केही समस्याहरु छन् ।

लत

विशेषज्ञहरुलाई मान्ने हो भने यदी बच्चालाई खाना खुवाउँदा मोबाइल देखाइयो भने उसलाई दैनिक यसरी नै खुवाउनु पर्ने हुन्छ । जसले गर्दा बच्चामा यसको नराम्रो असर पर्छ । दैनिक यसरी मोबाइल देखाएर खुवाउने गर्दा यसको लत लाग्छ । बच्चाले कुनै दिन यसरी खान पाएन भने रिसाउने, चिडिने खालको स्वभाव देखाउँछ ।

कम वा धेरै खानु

जब हाम्रो ध्यान खानामा हुन्छ त्यसपछि हामीलाई थाहा हुन्छ कति खाने भनेर । तर यदी खाना खाँदा मोबाइलमा भुल्यो भने कति खाने भन्ने थाहा हुँदैन । त्यसैले बच्चाहरु धेरै खाने वा कम खाने खालको बानी बस्छ । धेरैपटक त बच्चालाई थाहा पनि हुँदैन उसले के खाइरहेको छ ।

खानाको स्वाद थाहा हुँदैन

खाना मुखमा लग्ने बित्तिकै हामीले पहिला त्यसको स्वाद थाहा पाउँछौं । त्यसपछि हामीलाई त्यो मन पर्छ कि नाई थाहा पाउँछौं । यदी बच्चालाई मोबाइल देखाउँदै खुवाउन थालियो भने उसले खानाको स्वाद नै थाहा पाउँदैन । जसले गर्दा उनीहरुको स्वाद लिने प्रक्रिया पनि विकास हुँदैन ।

परिवारमा कुराकानी नहुनु

करीब एक दशक पहिला पनि परिवार सबै सँगै बसेर खाने गर्दथे । तर अहिले पारिवारिक खानपानको दैनिकी नै हुँदैन । सबैले आफ्नै समयमा खाने र आफ्नै मोबाइल वा अन्य कतै भुलेर खाना खाने गर्छन् । जसले गर्दा पारिवारिक बोन्ड पनि करीब सकिए जस्तो छ । यस्तोमा बच्चामा पनि त्यही बानी विकास भइसकेको छ ।

मोबाइलको लत छुटाउन के गर्ने:

  •  बच्चालाई खाना खुवाउँदा उनीहरुसँग कुराकानी गर्नुहोस् ।
  •  जब बच्चालाई आफै भोक लाग्दैन तबसम्म उसलाई खाना नखुवाउनुहोस् ।
  •  यदी खाना खानेबेला मोबाइल हेर्न जिद्दी गरेको खण्डमा तपाईं बेवास्ता गर्नुहोस् ।
  •  खानामा के मन पर्छ के पर्दैन यसबारेमा कुरा गर्नुहोस् ।
  •  खानाको पोषक तत्व तथा यसलाई खाएपछि कसरी शरीरमा हाम्रो दिमागमा काम गर्छ त्यसको महत्व पनि बुझाउनुहोस् ।