इटहरी  – दिपेन्द्र सिंह ऐरीको छ छक्काको मदतमा एसीसी प्रिमियर कप क्रिकेटमा नेपालले कतारलाई दुर्य सय ११ रनको लक्ष्य दिएको छ । ओमानको अल अमिरातमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले दुई सय १० रन बनायो ।

नेपालका लागि दिपेन्द्र सिंह ऐरीले २१ बलमा ६४ रन बनाए । दिपेन्द्रले २० औं ओभरमा ६ वटा छक्का प्रहार गरेका हुन् । यस्तै आशिफ शेषले ५२ र कुशल मल्लले ३५ रनको योगदान गरे । ओमानका हिमान्सु राथोड र मुसवार साहले सामान तीन विकेट लिए ।

नेपालले हिजो आफ्नो पहिलो खेलमा नेपालले मलेसियालाई पाँच विकेटले हराएको थियो  । अहिले साउदी अरेबिया र मलेसियाले पनि खेलिरहेका छन् । आजै भएका खेलमा यूएई र कुवेत विजयी भएका छन् ।

ओमानमा भएको खेलमा कुवेतले कम्बोडियालाई आठ विकेटले हरायो । कम्बोडियाले दिएको एक सय ४२ रनको लक्ष्य कुवेतले ११ ओभर दुई बलमा दुई विकेट गुमाएर भेटायो ।

कुवेत हिजो शुक्रबार भएको खेलमा यूएईसँग पराजित भएको थियो । कम्बोडिया भने आज पहिलो खेलमा पराजित भएको हो ।

आजै भएको अर्को खेलमा यूएईले बहराइनलाई ३७ रनले हराएको छ । यूएईले दिएको दुई सय ३७ रनको लक्ष्य पछ्याएको बहराइनले २० ओभरमा आठ विकेट गुमाएर एक सय ९९ रन बनायो ।  उसका इमरान अनवरले २२ बलमा ६० रन बनाए । यूएईका आयान अफजल खानले तीन विकेट लिए । पहिले ब्याटिङ गरेको यूएईका लागि आलिशान सफारुले ७८, आशिफ खानले ६६ र मोहम्मद वासिमले ६५ रन बनाएका थिए । बहराइनका इमरानले अनवरले तीन विकेट लिए ।

यूएईले हिजो कुवेतलाई हराएको थियो भने बहराइन आयोजक ओमानसँग पराजित गरेको थियो । लगातार दुई जितसहित यूएई समूह 'बी' को शीर्ष स्थानमा छ । एसीसी प्रिमियर कपमा नेपाल समूह 'ए' मा छ । यो समूहमा नेपालसँगै हङकङ, मलेसिया, कतार र साउदी अरेबिया छन् । यस्तै समूह ‘बी’ मा बहराइन, कम्बोडिया, कुवेत, ओमान र संयुक्त अरब इमिरेट्स (यूएई) छन् । समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । फाइनल जित्ने टोलीले एसिया कप खेल्न पाउने छ ।