इटहरी  – नेपाल  राष्ट्रिय क्रिकेट टोलीका अल-राउण्डर दीपेन्द्र सिंह ऐरीले आइसीसी टि-२० अल-राउण्डर वरियतामा ठूलो छलाङ मारेका छन् । दीपेन्द्रले १४ स्थान सुधार गर्दै वरियतामा ११औं स्थानमा पुगेका छन् ।दीपेन्द्र आईसीसी टी–२० को अलराउन्डर वरियतामा एसोसिएट अलराउन्डरको शीर्ष स्थानमा समेत पुगेका छन् । एसोसिएट राष्ट्र मध्य नामिबियाका जेरार्ड एरास्मस १३औं स्थानमा छन् । 

यसअघि उनी वरियतामा २५औं स्थानमा रहेका थिए । ओमानमा जारी एसीसी प्रिमियर कपमा उत्कृष्ट प्रदर्शन गरिरहेका दीपेन्द्रले पहिलो दुई खेलमा प्लेयर अफ द म्याच समेत जितेका थिए । यो सँगै उनले कतार विरुद्ध अन्तिम ओभरमा ६ बलमा ६ छक्का प्रगर गर्दै अन्तर्राष्ट्रिय क्रिकेटमा सो दुर्लभ उपलब्धि हासिल गर्ने पाचौँ खेलाडी समेत बनेका थिए।

अर्का अल-राउण्डर कुशल मल्ल ५ स्थान सुधार गर्दै २७औं स्थानमा पुगेका छन् । कप्तान रोहित पौडेल ६ स्थान तल झर्दै ६२औं स्थानमा पुगेका छन् भने गुलशन झा ६८औं स्थानमा छन् । करण केसी ८०औं स्थानमा रहेका छन् ।  

टि-२० ब्याटर वरियता तर्फ कप्तान रोहित पौडेल ५३औं स्थानमा रहेका छन् । १६ स्थान सुधार गर्दै दीपेन्द्र ६१औं स्थानमा रहेका छन् । यस्तै ओपनर आसिफ शेख ३६ स्थान सुधार गर्दै ब्याटर वरियतामा ७५औं स्थानमा पुगेका छन् । कुशल मल्ल ९ स्थान सुधार गर्दै १००औं स्थानमा पुगेका छन् ।