इटहरी - नेपाल क्रिकेट टोलीसँगको ५ टि ट्वान्टी खेलका लागि वेस्ट इन्डिज ‘ए’ टोली बुधबार नेपाल आइपुगेको छ । दुई पटकको टि ट्वान्टी विश्वकप विजेता वेस्ट इन्डिजको ए टोलीको कप्तानमा रोस्टन चेस छन् ।

नेपाल क्रिकेट संघ (क्यान) का क्रिकेट मेनेजर विनोद दासले वेस्ट इन्डिज टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए।

कीर्तिपुरस्थित त्रिवि मैदानमा नेपाल र वेस्ट इन्डिज एबीच शनिबार पहिलो खेल हुनेछ। सन् २०१६ मा वेस्ट इन्डिजले विश्वकप जित्दाका ब्याटर जोनसन चार्ल्स र आन्द्र फ्लेचर ए‌ टोलीमा छन्। वेस्ट इन्डिज टोलीको पहिलो पटक‌ नेपाल भ्रमणमा आएको हो ।

नेपाल र वेस्टइन्डिज ‘ए’ बीचको दोस्रो खेल वैशाख १६ गते, तेस्रो खेल वैशाख १९ गते , चौथो खेल वैशाख २० गते र पाँचौं तथा अन्तिम खेल वैशाख २२ गते हुनेछ ।

ओमानमा आइतबार सम्पन्न एसीसी प्रिमियर कपमा‌ भाग लिएर नेपाली क्रिकेट टोली सोमबार राति स्वदेश आइपुगेको छ।

वेस्ट इन्डिज ए क्रिकेट टोली

रोस्टन चेस (कप्तान), एलिक एथानाजे (उपकप्तान), फबिएन एलेन, कदिम एलियन, जोसुवा विसोप, केसी कार्टी, जोनसन चार्ल्स, मार्क दयाल, आन्द्रे फ्लेचर, म्याथ्यु फर्ड, ओबेद म्याककोय, गुडाकेश मोती, किमो पल, ओसान थोमस र हायडेन वाल्स ।