इटहरी  : नेपालले वेष्टइण्डिज ‘ए’ विरुद्ध पाँच खेलको टी–ट्वेन्टी सिरिज एक खेल अगावै गुमाएको छ।बिहीबार भएको चौथो खेलमा पराजित भएसँगै नेपालले सिरिज ३-१ ले गुमाएको हो।

सिरिजको पहिलो खेल जितेको नेपालले त्यसयता तीन खेलमा लगातार पराजय भोग्यो। पहिलो खेलमा ४ विकेटको जित निकालेको नेपाल दोस्रो खेलमा १० र तेस्रो खेलमा ७६ रनले पराजित भएको थियो ।चौथो खेलमा नेपाल २८ रनले पराजित हुँदै सिरिज सुम्पन बाध्य भयो।त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा वेष्टइण्डिज ‘ए’ ले दिएको २ सय १० रनको लक्ष्य पछ्याएको नेपाल १ सय ८१  रनमा समेटियो।नेपालका क्याप्टेन रोहित पौडेलले सर्वाधिक ८२ रनको योगदान गरे। आक्रामक ब्याटिङ  गरेका रोहितले ४७ बल खेल्दा ७ चौका र ५ छक्का प्रहार गरे।सन्दीप जोरा, गुल्सन झा र दीपेन्द्रसिंह ऐरीले समान १९ रन बनाए।कुशल मल्ल ४ र कुशल भुर्तेल एक रनमा आउट हुँदा आसिफ शेख र प्रतिश जिसि शून्यमा पभेलियन फर्किए।

यसअघि टस हारेर पहिला ब्याटिङ गरेको वेष्टइण्डिजले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २ सय ९ रन बनाएको थियो।उसका आन्द्रे फ्लेचर र जोन्सन चार्ल्सले अर्धशतकीय पारी खेले। ५४ बल खेलेका फ्लेचर ८४ रनमा अविजित रहे। उनले ९ चौका र ४ छक्का प्रहार गरे।चार्ल्सले ५८ रनको योगदान गरे। ३० बल खेलेका उनले ६ छक्का र ३ चौका हिर्काए। फाबिआन एलेनले आउट नभई ३३ रन बनाए।नेपालका कुशल भुर्तेलले २ र प्रतिस जिसिले एक विकेट लिए।

सिरिज अन्तर्गत पाँचौँ तथा अन्तिम खेल शनिबार हुनेछ । आगामी जुनमा आयोजना हुने आईसीसी टी–ट्वेन्टी विश्वकपको तयारीका क्रममा नेपाल र वेष्ट इण्डिज एबीच मैत्रीपूर्ण खेल भइरहेको हो । विश्वकप जुन १ देखि २९ तारिखसम्म अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रूपमा आयोजना हुँदैछ । विश्वकपमा नेपाल समूह डीमा छ । जसमा दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्याण्ड्स छन् । वेष्ट इण्डिज समूह ‘सी’ मा छ । यो समूहमा न्युजिल्यान्ड, अफगानिस्तान, पपुवा न्यु गिनी र युगाण्डा छन् ।