सिरहा- सिरहा जिल्लाको कर्जन्हा नगरपालिका-१० स्थित पश्चिमी सीमाक्षेत्रबाट नेपाल र भारतका तीन जनालाई पक्राउ गरिएको छ। प्रहरीको गोप्य सूचनाका आधारमा भएको कारबाहीमा भारतको बिहार राज्य मधुवनी जिल्लाका २० वर्षीय किसुन मुखिया, मकवानपुर जिल्लाको मनहरी गाउँपालिका-९ का ६२ वर्षीय खडकबहादुर तामाङ, र सिरहाकै कर्जन्हा नगरपालिका-१० की ४० वर्षीया चानोदेवी मुखिया पक्राउ परेका हुन्।

प्रहरी चौकी कर्जन्हा र इलाका प्रहरी कार्यालय मिर्चैयाको टोलीले शुक्रबार दिउँसो उनीहरूलाई नियन्त्रणमा लिएको थियो। जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डिएसपी मुक्तिनाथ सापकोटाका अनुसार, स्थानीय ४५ वर्षीय बिहारी मुखियाको गोठघरमा लुकाएर राखिएको २१७ किलो गाँजा बरामद गरिएको छ। गाँजालाई प्लास्टिकका १४ वटा पोकामा लुकाइएको अवस्थामा फेला पारिएको हो।

हाल घटनासम्बन्धी थप अनुसन्धान भइरहेको र संलग्न अन्य व्यक्तिहरूको खोजी जारी रहेको सिरहा प्रहरीले जनाएको छ।