इटहरी ।  गत साता नेप्से परिसूचक २.९५ प्रतिशत अर्थात ७६.७६ अङ्क बढेर २६७७.५४ बिन्दुमा बन्द भएको छ ।

पाँच कारोबार दिन खुलेको बजारमा चार कारोबार दिन नेप्से बढेको थियो भने एक कारोबार दिन घटेको थियो । नेप्सेसँगै गत साता कारोबार रकम पनि बढेको छ । अघिल्लो साता दैनिक औसतमा ४ अर्ब ८५ करोड रुपैयाँको शेयर खरिदबिक्री भएको बजारमा गत साता दैनिक औसतमा ५ अर्ब ८३ करोड रुपैयाँको शेयर किनबेच भएको थियो ।

सातामा १३ वटै उपसमूहको परिसूचक बढेको छ । निर्जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक ३.७६ प्रतिशत बढेको छ । व्यापार उपसमूहको परिसूचक भने सबैभन्दा कम ०.९१ प्रतिशत बढेको छ ।

गत साता एभरेष्ट कलर लिमिटेडको ३० लाख कित्ता आईपीओ नेप्सेमा सूचीकृत भएर कारोबार शुरु भएको छ ।

गत साता थ्री स्टार हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक १९.१२ प्रतिशत बढेको छ । उपकार लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य सर्वाधिक ११.०९ प्रतिशत घटेको छ ।