भोजराज घिमिरे

विराटनगर-  नेपाल उद्योग वाणिज्य महासंघ, कोशी प्रदेशले कृषि उत्पादनमा प्रविधिको प्रयोगद्वारा वृद्धि गर्ने र आत्मनिर्भरता हासिल गर्ने दिशामा कदम चाल्नुपर्ने आवश्यकतालाई जोड दिएको छ। महासंघले स्थानीय कृषक, व्यवसायी, र सरकारी निकायहरूबीच सहकार्यको आवश्यकता औंल्याउँदै, आधुनिक प्रविधिको प्रयोगमार्फत दीर्घकालीन कृषि विकासको खाका तयार गर्नुपर्ने उल्लेख गरेको छ।

प्रेस विज्ञप्तिमा आयातमा निर्भरता घटाउन र स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न आधुनिक कृषि प्रविधि र नवप्रवर्तनको प्रयोगलाई प्राथमिकतामा राख्नुपर्ने कुरा स्पष्ट गरिएको छ। महासंघले प्रदेशलाई आत्मनिर्भर बनाउन, कृषकहरूलाई प्रविधिमा सशक्त बनाउन, र स्थानीय उद्योग व्यवसायीहरूको संलग्नता बढाउन आह्वान गरेको छ।

महासंघका अनुसार, कोशी प्रदेशमा कृषि क्षेत्रको विकासका लागि ऊर्जा र यातायात पूर्वाधारको सुदृढीकरण आवश्यक छ। यसले उत्पादनलाई बजारसम्म पुर्याउन र कृषि क्षेत्रको समग्र वृद्धि गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। 

प्रदेशका युवाहरूलाई कृषिमा आकर्षित गर्न शैक्षिक संस्था र तालिम केन्द्रहरूको भूमिका महत्वपूर्ण हुने बताउँदै, महासंघले कृषि र उद्योगमा आत्मनिर्भरता हासिल गर्न सरकारी, निजी, र स्थानीय निकायहरूबीचको सहकार्यमा जोड दिएको छ।