-प्रदीप चापागाईं

विराटनगर – महिला उद्यमी महासंघकी अध्यक्ष शोभा ज्ञवालीले बढ्दो युवा पलायन रोक्न साना तथा मझौला उद्यमीहरूलाई विशेष प्रोत्साहन गर्न सरकारसँग आग्रह गरेकी छन्।

अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा सोमबार विराटनगरमा आयोजित कार्यक्रममा उनले उद्यमशीलता प्रवर्द्धनमार्फत युवाहरूलाई देशमै अवसर सिर्जना गर्न सकिने बताइन्। विदेशिने युवामा पुरुषको संख्या धेरै भएकाले महिलालाई उद्यममा प्रोत्साहित गर्दा अर्थतन्त्र र रोजगारी दुवैमा लाभ पुग्ने उनको भनाइ थियो।

कार्यक्रममा कोशी प्रदेश सरकारका आर्थिक सल्लाहकार मोहनकुमार सुवेदीले ‘उदय परियोजना’ मार्फत भदौको अन्तिम सातादेखि युवालाई विनाधितो ऋण वितरण सुरु हुने जानकारी दिए। साथै, स्थानीय कच्चा पदार्थबाट बनेका उत्पादनलाई उपहारका रूपमा प्रयोग गर्ने योजनासमेत अघि बढाइएको उनले बताए।