विराटनगर – ब्रह्माकुमारी राजयोग सेवा केन्द्रको आयोजनामा दादी प्रकाशमणिजीको पुण्यतिथि तथा विश्व बन्धुत्व दिवसको अवसरमा नेपाल–भारतभर एकसाथ बृहत् रक्तदान अभियान हुने भएको छ।
नेपालतर्फ यस अभियानको नेतृत्व विराटनगरस्थित ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले गर्नेछ। भदौ ६ देखि ९ गतेसम्म (अगस्ट २२–२५) सञ्चालन हुने कार्यक्रममा करिब १ लाख यूनिट रक्त संकलन गर्ने लक्ष्य राखिएको मिडिया संयोजक विनोद अग्रवालले जानकारी दिए।?
नेपाल र भारतका हजारौँ ब्रह्माकुमारी सदस्यहरू, सामाजिक संस्था तथा सङ्घ–संगठनहरूको सक्रिय सहभागिता रहने यस अभियानको नारा “रगत दान, जीवन दान” राखिएको छ। आयोजकहरूले सम्पूर्ण इच्छुक रक्तदातालाई सहभागी भई अभियान सफल बनाउन आह्वान गरेका छन्।
मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले भदौ ६ गते विराटनगरस्थित सेवा केन्द्रको प्राङ्गणमा ग्लोबल मेगा रक्तदान अभियानको औपचारिक शुभारम्भ गर्ने कार्यक्रम रहेको जनाएको छ।
ब्रह्माकुमारी राजयोग सेवा संस्थाले शान्ति, सद्भाव, राष्ट्रिय एकता र धार्मिक सहिष्णुतालाई प्रवर्द्धन गर्न ८५ वर्षदेखि आध्यात्मिक, नैतिक र चारित्रिक मूल्यमा आधारित गतिविधि सञ्चालन गर्दै आएको छ। यसपटकको अभियानले नेपालमा बढ्दो रक्तअभाव समाधान गर्ने मात्र नभई सामाजिक एकता र मानवीय सहयोगमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको आयोजकले जनाएका छन्।


















