काठमाडौंः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले सर्वोच्च अदालतको चौथो वरीयतामा रहेका मनोजकुमार शर्मालाई प्रधानन्यायाधीश सिफारिश गरेपछि उत्पन्न विवादबारे आफ्नो प्रतिक्रिया दिँदै न्यायालयको परम्परा र विधि नमिचिएको बताएका छन् । 


रास्वपा सांसदहरूको प्रशिक्षणका लागि आयोजित कार्यक्रमको समापनमा आज लामिछानेले भने, ‘संवैधानिक परिषदको निर्णय असंवैधानिक भयो, न्यायालयको परम्परा यस्तो थिएन भन्ने कुरा आइरहेको छ । म उहाँहरूलाई प्रश्न गर्छु — यो निर्णय कसरी असंवैधानिक भयो ?’ 


सर्वोच्चका ६ जना न्यायाधीश सर्टलिस्ट भएकामा तीमध्ये एक जनालाई चुन्नुपर्ने प्रावधान रहेको र संवैधानिक परिषदले त्यसै अनुसार एक जना चुनेको उल्लेख गर्दै लामिछानेले भने, ‘यदि वरिष्ठ न्यायाधीशलाई नै प्रधानन्यायाधीश बनाउने हो भने संवैधानिक परिषदको खाँचो नै किन प¥यो ? सिधै वरिष्ठताका आधारमा नियुक्त गरे भइहाल्यो ।’


उनले ६ जनाको नाम सिफारिस रास्वपाको उपस्थितिमा नभएको र पहिलेदेखि सर्टलिस्ट भएर बसेका नामबाट क्षमता र योग्यताका आधारमा एक जना चुन्ने काम मात्र संवैधानिक परिषदले गरेको उनको प्रष्टीकरण थियो ।