काठमाडौंः इस्तानबुलबाट सोमबार बिहान काठमाडौँ आएको टर्किस एयरलाइन्सको टीके ७२६ कल साइनको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा चक्कामा आगो लागेको छ ।

विमानमा रहेका सबै यात्रुहरु सुरक्षित रहेको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले जनाएको छ । सो विमानमा रहेका चार बच्चासहित २७३ यात्रु र चालक दलका ११ सदस्यलाई इर्मेन्सी ढोका खोलेर उद्धार गरिएको थियो ।

विमानमा आगो लागेपछि उद्धारका क्रममा केही यात्रुलाई सामान्य चोट लागेको छ ।

विमानस्थल सुरक्षा कार्यालयका अनुसार घटनालगत्तै दमकल पुगेर आगोलाई नियन्त्रणमा लिइएको थियो ।