विराटनगर - पूर्वाञ्चलको स्वास्थ्य सेवा क्षेत्रमा ऐतिहासिक कदम चालेको छ—बुढीगंगा गाउँपालिका–२, टंकिसिनवारीस्थित विराट मेडिकल कलेज टिचिङ हस्पिटलले स्त्री तथा प्रसूति सेवाका लागि समर्पित २ सय शैय्याको अत्याधुनिक भवन मंगलबारदेखि सञ्चालनमा ल्याएको छ।

महिला स्वास्थ्य सेवाको गुणस्तर र पहुँच विस्तारलाई लक्षित गर्दै निर्माण गरिएको यो नयाँ भवनको उद्घाटन काठमाडौं विश्वविद्यालयका उपकुलपति प्रा.डा. अच्युत प्रसाद वाग्लेले गरेका हुन्।IMG_20250826_232436

अत्याधुनिक सुविधा

नयाँ भवनमा ५ वटा अत्याधुनिक शल्यक्रिया कक्ष (अप्रेशन थिएटर), २ सय बेड क्षमताको वार्ड, ३० डिलक्स क्याबिन, छुट्टै गाइनो–आइसीयू, स्त्री तथा प्रसूति आपतकालीन सेवा र विशिष्ट ल्याप्रोस्कोपिक सुविधा रहेका छन्। यससँगै अस्पतालमा हाल सञ्चालनमा रहेका अप्रेशन थिएटरको संख्या २४ पुगेको छ।

अस्पतालका अध्यक्ष डा. ज्ञानेन्द्र बहादुर कार्कीले “स्त्री तथा प्रसूति जस्तो संवेदनशील क्षेत्रमा सुरक्षित र व्यवस्थित उपचार सुनिश्चित गर्न यो भवन माइलस्टोन सावित हुनेछ” भन्दै यसबाट हजारौं महिलालाई प्रत्यक्ष लाभ पुग्ने विश्वास व्यक्त गरे।

सन् २०१४ मा स्थापना भएको विराट मेडिकल कलेज शिक्षण अस्पताल छोटो समयमा नै कोशी प्रदेशकै अग्रणी स्वास्थ्य संस्था बनेको छ। १०० बेड क्षमताको आपतकालीन विभाग, २० भन्दा बढी विशेषज्ञ स्त्रीरोग तथा प्रसूति चिकित्सकहरूको टोलीद्वारा २४ घण्टा सेवा, र आधुनिक उपकरण प्रयोगका कारण यो अस्पताल प्रदेशमै मात्र नभई देशकै आकर्षण बन्दै गएको छ।

अस्पतालले बिरामीका आफन्त, चिकित्सक तथा कर्मचारीहरूको सहजताका लागि अत्याधुनिक ‘विराट खाजा घर’ समेत सञ्चालनमा ल्याएको छ।

उद्घाटन कार्यक्रममा प्रमुख अतिथि प्रा.डा. वाग्लेले स्वास्थ्य र शिक्षामा विराट मेडिकल कलेजले पु¥याएको योगदानलाई विशेषरूपमा प्रशंसा गरे।
उनले भने—

“विराट टिचिङ हस्पिटलले चिकित्सा शिक्षा र स्वास्थ्य सेवामा गुणस्तर कायम राख्दै उदाहरणीय काम गरेको छ। अब नेपालमै गुणस्तरीय स्वास्थ्य शिक्षा विस्तार गर्न सके वार्षिक ८ खर्बभन्दा बढी रकम विदेश जाने क्रमलाई रोक्न सकिन्छ।”

उनका अनुसार गत आर्थिक वर्षमा मात्र शिक्षा शीर्षकमा करिब १ खर्ब ३८ अर्ब रुपैयाँ बाहिरिएको छ। उनले नेपालमा अंग्रेजी माध्यममार्फत अध्ययन सुरु गर्न सके विदेशी विद्यार्थी आकर्षित हुने र देशकै आय बढ्नेमा जोड दिए।

कार्यक्रममा बोल्दै अध्यक्ष डा. कार्कीले सरकारले लामो समयपछि बढाएको एमबीबीएस कोटालाई ‘१० वर्षपछिको आइस ब्रेक’ को संज्ञा दिँदै स्वागत गरे।
उनले भने—

“निजी क्षेत्रले ठूलो लगानी गरेर स्वास्थ्य क्षेत्रमा आधारभूत संरचना तयार गरिसकेको छ। अब राज्यले नीति निर्माणमा निजी क्षेत्रलाई साझेदार बनाउनुपर्छ।”

उनले चेतावनीसमेत दिए कि राजनीतिक हस्तक्षेप र अनावश्यक हठका कारण चिकित्सा शिक्षाको विस्तार रोकिएमा विद्यार्थी विदेश पलायन बढ्नेछ र देशको स्वास्थ्य शिक्षा धरासायी बन्नेछ।

काठमाडौं विश्वविद्यालयका चिकित्सा शास्त्र संकायका डीन प्रा.डा. मनोज हुमागाईंले “समयानुकूल पाठ्यक्रम र स्तरीय शिक्षाका कारण काठमाडौं विश्वविद्यालय विदेशी विद्यार्थीका लागि पनि आकर्षण बन्नेमा विश्वस्त” भएको बताए।

कलेजका प्राचार्य डा. सन्तोष उपाध्याय काफ्लेले नयाँ भवन, नयाँ कक्षाकोठा र अत्याधुनिक प्रविधि प्रयोगमा ल्याएर शिक्षाको स्तर अझै उचाइमा पुर्‍याइने जानकारी दिए।

कार्यक्रमकै अवसरमा सहायक प्रमुखका रूपमा डा. मनोज भट्टराई र डा. किशोर गुरुङलाई नियुक्तिपत्र प्रदान गरिएको थियो।IMG_20250826_232401

नवीनतम स्त्री तथा प्रसूति भवनसहित विराट मेडिकल कलेजले कोशी प्रदेश र पूर्वाञ्चलको स्वास्थ्य सेवामा नयाँ अध्याय सुरु गरेको छ। यो कदमले महिलाहरूलाई सहज, सुरक्षित र गुणस्तरीय उपचार सुनिश्चित गर्ने मात्र नभई नेपालमै गुणस्तरीय चिकित्सा शिक्षा विस्तार गर्ने सम्भावना बोकेको छ।