-मनोज दाहाल 

इनरुवा - नेपालमा हरेक पुस्ताले आफ्नो आवाजले इतिहास लेखेको छ। अहिलेको जेन जि पुस्ता डिजिटल दुनियाँमा हुर्किएको, नतिजा खोज्ने, न्याय, समानता र इमानदार शासनको लागि आवाज उठाउने नयाँ शक्ति हो। उनीहरूले कुनै दल वा नेताको प्रतिक्षा गरेनन्—आन्दोलन स्वतः जन्मियो।

सडक, सामाजिक सञ्जाल, फेसबुक, ट्विटर, टिकटक र इन्स्टाग्राम—यी सबै माध्यमले आन्दोलनलाई विश्वभर फैलाए। तर यसको मूल्य पनि ठूलो छ—सडकमा संघर्ष, अश्रुग्यास, गोलीबारी, हजारौं घाइते, धेरैले जीवन गुमाए।

यस आन्दोलनले सबैभन्दा ठूलो उपलब्धि भनेको मौन समाजलाई बोल्न सिकाउनु हो। “किन बेरोजगारी? किन शिक्षा महँगो? किन स्वास्थ्य व्यापार भयो?”—जस्ता प्रश्न गाउँदेखि शहरसम्म गुन्जिए। नेताहरूको विलासिता र जनताको पीडा देखेर जनताको तिक्तता अझ बढ्यो।

जेन जि पुस्ताले चाकरी होइन, कार्यकुशलता र परिणाम खोज्छ। यो आन्दोलन केवल विद्रोह होइन—भविष्यको घोषणापत्र हो। सामाजिक सञ्जालले मनोरञ्जन मात्र नभई आन्दोलनको अखडा बन्न सक्ने क्षमता देखायो।

तर संगठनको अभाव र नेतृत्व स्पष्ट नहुँदा, आन्दोलन अझै अपूर्ण छ। राज्यले अब दुई बाटो छान्नुपर्छ—दमन वा अवसरको रूपमा स्वीकार। युवाले उठाएका शिक्षा, स्वास्थ्य, रोजगारी र सुशासनका प्रश्न सम्बोधन गरे, भने यो आन्दोलन सकारात्मक मोड बन्न सक्छ।

जेन जि पुस्ताले स्पष्ट भनेको छ:

“हामी मौन बस्दैनौं, हामी आफ्नै भविष्य आफैँ लेख्छौं।”

यही स्वरलाई सम्मान गर्ने हो भने नेपाल उज्यालो भोलितर्फ अघि बढ्छ।

जय देश!!!