इटहरी । इटहरीमा शनिबार सम्पन्न भएको एउटा कार्यक्रम अलिक भिन्न थियो–त्यहाँ हावा शब्दसँग खेल्दै थियो, र पुस्तकको सुगन्धले मनहरू उज्यालो बनाइरहेको थियो । स्त्री शक्ति र आत्मजागरणको स्वर बोकेको लेखिका सीमा आभासको उपन्यास ‘महायुग’को परिचर्चा ।

सञ्चारिका समूह, सुनसरीको आयोजनामा भएको उक्त कार्यक्रम केवल पुस्तक विमोचनको औपचारिकता थिएन; त्यो त चेतना र सिर्जनाको संगमस्थल थियो । साहित्यकार मनु मञ्जील, टिका आत्रेय र अस्मिता विष्टले उपन्यासका पाना भित्रका आत्मस्वरहरू खोले–पात्रहरूका संघर्ष, समयको यथार्थ र भाषा भित्रको साहित्य उनीहरूले हृदयले पढे ।

कार्यक्रमको सभापतित्व समूहकी अध्यक्ष रञ्जना पौडेलले गरेकी थिइन् । जीवन्त संवादका क्रममा साहित्यकार प्रज्वल पराजुलीले लेखिका सीमा आभाससँग साहित्यिक प्रश्नोत्तर गर्दै महायुगका पात्र र प्रसङ्गहरूलाई प्रष्ट बनाए ।

कार्यक्रममा सुनसरी र मोरङका साहित्यकार, कलाकार, सञ्चारकर्मीहरू सबै उपस्थित थिए । महायुगको विमर्शसँगै इटहरीमा पुस्तकहरुमाथि चर्चा गर्ने संस्कृतिले निरन्तरता पाएकोछ ।