पथरी शनिश्चरे, मंसिर १४

मोरङको पथरीशनिश्चरेस्थित वाल्मीकि माध्यमिक विद्यालयमा गठन भएको वाल्मीकि स्काउट दलले एक भव्य र आकर्षक समारोहका बीच ३२ जना विद्यार्थीलाई दीक्षित गरेको छ।

दीक्षान्त समारोहका प्रमुख अतिथि पथरीशनिश्चरे–२ का वडा अध्यक्ष नैना राई रहनुभयो। कार्यक्रममा विद्यालयका निर्देशक नोवल किशोर खनाल, नेपाल स्काउट पथरी शनिश्चरे नगरपालिकाका प्रमुख आयुक्त रोशन बुढाथोकी, विद्यालयका प्रिन्सिपल चन्द्र प्रसाद दुलाल लगायतको उपस्थिति रहेको थियो।IMG_20251130_090532

अतिथिहरूले विद्यार्थीको नेतृत्व विकास, अनुशासन, आत्मविश्वास र व्यक्तित्व निर्माणमा स्काउट कार्यक्रम अत्यन्त प्रभावकारी रहेको उल्लेख गर्दै यस्ता गतिविधिले विद्यालय शिक्षालाई थप व्यवहारिक र जीवनमुखी बनाउने बताए।

दीक्षान्तकै अवसरमा विद्यालय परिसरमा क्याम्प–फायर, सांगीतिक तथा मनोरञ्जनात्मक प्रस्तुति, साथै ओमेगा, जिप–लाइन, अप्सिलिङ जस्ता साहसिक गतिविधिहरू समेत आयोजना गरिएको थियो। सहभागी विद्यार्थीहरू उत्साहपूर्वक सक्रिय देखिएका थिए।

समारोहको अन्त्यमा नव–दीक्षित स्काउट सदस्यहरूलाई प्रमाणपत्र, ब्याज तथा स्कार्फ प्रदान गरिएको वाल्मीकि स्काउट दलले जानकारी दिएको छ।