धरानः धरानस्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलद्वारा आयोजित हिबिस्कस क्विज सिजन–४ हाजिरी जवाफ प्रतियोगितामा मोरङको सुन्दरहरैंचा–६ मा रहेको साजीलाल माध्यमिक विद्यालय पहिलो भएको छ ।

प्रतियोगितामा सहभागी ४५ विद्यालयमध्ये तेस्रो स्थान प्राप्त गर्दै अन्तिम चरणमा प्रवेश गरेको साजीलाल मावि फाइनल चरणमा भने पहिलो भएको हो । प्रतियोगितामा जिवितेस कट्टेल, रमा घिमिरे र संस्कार पोखरेलले भाग लिएका थिए ।

विजेता साजीलाल माविले नगद २० हजार रुपैयाँ, ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ । जीवनज्योति इङ्लिस बोर्डिङ स्कुल चक्रघट्टीले उपविजेतामा चित्त बुझाउँदै नगद १५ हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

सेकेन्ड रनर अप धरान मेघा हिमालयन स्कुल भएको छ । महेन्द्र माध्यमिक विद्यालय तित्रीगाछी–वराहक्षेत्रले चौथो स्थान तथा तरहरा मोडल एकेडेमीले पाँचौँ स्थान प्राप्त गरेका छन् ।

आयोजक स्कुल हिबिस्कस इङ्लिस बोर्डिङले सान्त्वना स्थानमा चित्त बुझाएको छ । प्रतियोगितामा तेस्रो हुनेले ८ हजार, चौथोले ६ हजार, पाँचौँले ४ हजार तथा सान्त्वना टिमले २ हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

कार्यक्रमका प्रमुख अतिथि धरान उपमहानगरपालिकाका उपमेयर अइन्द्रविक्रम बेघाका साथै निर्णायकद्वय नवोदीप साह र सुरेश रेग्मीले विजेता तथा सहभागी टिमहरूलाई पुरस्कार र प्रमाणपत्र वितरण गरेका थिए ।