इटहरी -रोजगारमुखी तालिम तथा रोजगारीका लागि सहजीकरण गर्ने उद्देश्यसहित ‘सीपदेखि रोजगारीः व्यवसायको साझेदार’ भन्ने नाराका साथ इटहरीमा नेप्ली जब एण्ड सर्भिसेस सञ्चालनमा आएको छ। इटहरीस्थित कार्यालयमार्फत सेवा दिँदै आएको यस संस्थाले रोजगारदाता र रोजगारी खोज्ने व्यक्तिबीच प्रभावकारी पुलको काम गर्ने लक्ष्य लिएको छ।
संस्थाका अनुसार नेप्ली जब एण्ड सर्भिसेसले आफ्ना कार्यक्रमहरू तीन चरणमा सञ्चालन गर्दै आएको छ। पहिलो चरणमा रोजगारी खोजिरहेका दक्ष, अर्धदक्ष तथा अदक्ष व्यक्तिहरूबाट फर्म भराइ उनीहरूको अभिलेख तयार गरिन्छ। शिक्षा, सीप, अनुभव तथा रुचिको क्षेत्रका आधारमा वर्गीकरण गरी आवश्यकताअनुसार डेटाबेस तयार पारिने जनाएको छ।
दोस्रो चरणमा सीप अभाव भएका वा सीप अभिवृद्धि गर्न चाहने व्यक्तिहरूलाई विभिन्न सीपमूलक तालिम प्रदान गरिन्छ। नेप्ली जब आफैंले तालिम आयोजना गर्नुका साथै विभिन्न तालिम प्रदायक संस्थाहरूसँग समन्वय गरेर व्यावसायिक तथा व्यवहारिक तालिम उपलब्ध गराउँदै आएको छ।
तेस्रो चरणमा तालिम प्राप्त तथा योग्य व्यक्तिहरूलाई रोजगारीका लागि सहजीकरण गरिन्छ। विभिन्न कम्पनी तथा संस्थाहरूमा आवश्यक जनशक्तिसँग मिलान गरी रोजगारीका अवसरसम्म पुर्याइने संस्थाले जनाएको छ। रोजगारीमा संलग्न भएपछि गर्नुपर्ने काम, कार्यसंस्कृति र जिम्मेवारीका विषयमा काउन्सिलिङ सेवा समेत प्रदान गरिँदै आएको छ।
स्थापनाको छोटो अवधिमै नेप्ली जब एण्ड सर्भिसेसले धेरै युवाहरूलाई रोजगारीमा जोड्न सफल भइसकेको छ। इटहरीलाई आधार बनाएर सेवा दिँदै आए पनि आगामी दिनमा कोशी प्रदेशका प्रायः सबै जिल्लामा सेवा विस्तार गर्ने तयारी रहेको जानकारी दिइएको छ।
रोजगारदाताले खोजेजस्तो जनशक्ति पाउन र रोजगारी खोज्नेले आफ्नो क्षमता तथा रुचिअनुसारको अवसर पाउन सकून् भन्ने नै संस्थाको मुख्य उद्देश्य रहेको नेप्ली जबले स्पष्ट पारेको छ। साथै उपयुक्त तथा सक्षम कर्मचारी खोजिरहेका कम्पनी तथा संस्थाहरूलाई आवश्यक जनशक्ति उपलब्ध गराएर सहयोग गर्दै आएको जनाएको छ।
‘एउटा देश तब समृद्ध मानिन्छ, जब त्यहाँ बेरोजगारी शून्य हुन्छ’ भन्ने मान्यताका साथ शिक्षा, ज्ञान, सीप र दक्षता विकासमार्फत युवाहरूलाई रोजगारीका अवसरसम्म पुर्याउनु नै संस्थाको मूल उद्देश्य रहेको छ।


















