पथरी शनिश्चरे, चैत २
मोरङको पथरी शनिश्चरे नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा सञ्चालन गरिएको नगरपालिका स्तरीय विद्यार्थी प्रतिभा पहिचान तथा उत्कृष्ट विद्यार्थी प्रोत्साहन कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
शुक्रबार उद्घाटन गरिएको कार्यक्रम आज समापन गरिएको हो। पथरी शनिश्चरे नगरपालिका भित्रका सामुदायिक तथा निजी विद्यालयहरूको सहभागितामा कार्यक्रम उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको आयोजकले जनाएको छ। पथरी शनिश्चरे–१ स्थित पञ्चायत माध्यमिक विद्यालयको संयोजनमा कार्यक्रम सञ्चालन गरिएको थियो।
कार्यक्रमअन्तर्गत विभिन्न विधामा प्रतिस्पर्धा गराइएको थियो। विज्ञान प्रदर्शनीतर्फ बुद्ध माध्यमिक विद्यालय प्रथम, पञ्चायत माध्यमिक विद्यालय दोस्रो, रेडस्टार/भूपू सैनिक तेस्रो र एभरेष्ट विद्यालय सान्त्वना भएका छन्।
आधारभूत तह नृत्यतर्फ हिरक आविका छेवाङ दोर्जे तामाङ प्रथम, स्मार्ट मन्टेश्वरीका सान्भी श्रेष्ठ दोस्रो, रेडस्टारकी विनिशा माझी तेस्रो र मोरङ मेरिगोल्डकी योङ्छोमा लिम्बु सान्त्वना भएका छन्। माध्यमिक तह नृत्यतर्फ पञ्चायतका सुजता घिसिङ प्रथम, वाल्मीकिका जेनिशा तामाङ दोस्रो र रेडस्टारका पार्वती गुरुङ तेस्रो भएका छन्।
माध्यमिक तह गायनतर्फ रेडस्टारका रिक्जन दर्नाल प्रथम, सिंहवाहिनीका अदित राई दोस्रो र प्यागोडाकी शिका अधिकारी तेस्रो भएका छन्। आधारभूत तह गायनतर्फ रेडस्टारका निश्चल लिम्बू प्रथम, पञ्चायतका आदर्श धिताल दोस्रो र एभरेष्टकी ओशियन सेन्चुरी तेस्रो भएका छन्।
माध्यमिक तह चित्रकलातर्फ पञ्चायतकी सलिना माझी प्रथम, एभरेष्टकी स्नेहा वनेम दोस्रो र भूपू सैनिकका प्रजल राउत तेस्रो भएका छन्। आधारभूत तह चित्रकलातर्फ वाल्मीकिका आयुस्मा लिम्बु प्रथम, ग्रेटग्रेसका नरेन लिम्बु दोस्रो र रेडस्टारका अस्मी बराइली तेस्रो भएका छन्।
प्रतियोगितामा उत्कृष्ट स्थान हासिल गर्ने विद्यार्थीहरूलाई नगदसहित प्रमाणपत्र प्रदान गरिएको थियो। साथै शैक्षिक वर्ष २०८१ मा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई उद्घाटनकै दिन प्रोत्साहनस्वरूप पुरस्कार वितरण गरिएको थियो।
पञ्चायत माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष युवराज बास्कोटाको अध्यक्षतामा सम्पन्न समापन कार्यक्रममा नगर प्रमुख मोहनप्रसाद तुम्वापो, वडा नं. ९ का वडाध्यक्ष जीवन खतिवडा, वडा नं. १ का वडाध्यक्ष भीमकुमार राई, नगर स्वास्थ्य शाखा प्रमुख मुरारी आचार्य, नगर शिक्षा शाखा प्रमुख नविन खुलाल, शिक्षा अधिकृत बिना मिश्र, प्याब्सन नगर अध्यक्ष सन्तोष बस्नेत, पञ्चायत माविका प्रधानाध्यापक तथा नेपाल शिक्षक महासंघका अध्यक्ष अर्जुनकुमार बुढाथोकी लगायतको उपस्थिति रहेको थियो।


















