विराटनगर — इन्धनको लगातार बढ्दो मूल्य र निर्माण सामग्रीको अभावले देशभरको निर्माण क्षेत्र गम्भीर संकटमा पुगेको छ। निर्माण व्यवसायी महासंघ, कोशी प्रदेशले पत्रकार सम्मेलन गर्दै अहिलेको अवस्था भयावह बन्दै गएको चेतावनी दिएको छ।IMG-20260426-WA0006

महासंघका अध्यक्ष जनसेवक भण्डारीका अनुसार मध्यपूर्वमा जारी युद्धको प्रभाव नेपालसम्म आइपुगेको छ। डिजेल, पेट्रोल र मट्टितेलको मूल्य आकाशिँदा ढुवानी खर्च ह्वात्तै बढेको छ, जसले सिमेन्ट, डण्डी, गिट्टी, बालुवा लगायतका सामग्रीको मूल्य अनियन्त्रित रूपमा बढाएको छ। बजारमा अभावसमेत चुलिएको छ।IMG-20260426-WA0004

निर्माणको मुख्य सिजनमै यस्तो संकट आउँदा अधिकांश आयोजना ठप्प हुने अवस्थामा पुगेका छन्। यसले हजारौं मजदुरको रोजगारी जोखिममा परेको छ भने सम्बन्धित उद्योगहरू समेत धराशायी हुने खतरा बढेको महासंघको दाबी छ।

महासंघले सरकारी मूल्य सूचकांकप्रति पनि असन्तुष्टि जनाउँदै वास्तविक बजार मूल्य नझल्किँदा व्यवसायी झन् मारमा परेको जनाएको छ।

सरकारसँग तत्काल हस्तक्षेपको माग गर्दै महासंघले मूल्य समायोजनसम्बन्धी नयाँ मार्गनिर्देशिका ल्याउन, सबै ठेक्कामा मूल्य समायोजन लागू गर्न र प्रभावित व्यवसायीलाई राहत दिन आग्रह गरेको छ।

साथै, अधिकांश आयोजना समयमै सम्पन्न हुन नसक्ने भन्दै म्याद थप, बैंक ग्यारेन्टी, इन्सुरेन्स र क्षतिपूर्तिको व्यवस्था गर्न समेत सरकारलाई दबाब दिएको छ।

महासंघको चेतावनी छ— यदि तत्काल समाधान नखोजिए राष्ट्रिय गौरवका परियोजनासमेत ठप्प हुने अवस्था आउन सक्छ।