इटहरी ।  गत साता नेप्से परिसूचक करिब २ प्रतिशत घटेर बन्द भएको छ । अघिल्लो साता २८३८.४० विन्दुमा बन्द भएको नेप्से गत साता १.७५ प्रतिशत अर्थात् ४९.७० अङ्क घटेर २७८८.७० विन्दुमा बन्द भएको छ ।

गत साता पाँच कारोबार दिनका लागि बजार खुल्दा चार कारोबार दिन नेप्से घटेको थियो । नेप्सेसँगै गत साता कारोबार रकम पनि घटेको छ । अघिल्लो साता दैनिक औसतमा ८ अर्ब ९९ करोड रुपैयाँको शेयर खरिदबिक्री भएको बजारमा गत साता दैनिक औसतमा ५ अर्ब ८७ करोड रुपैयाँको मात्र शेयर किनबेच भएको थियो ।

गत साता नेप्सेको कुल बजार पूँजीकरण पनि करिब २ प्रतिशत घटेको छ । अघिल्लो साताको अन्तिम कारोबार दिन ४८ खर्ब ४१ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पूँजीकरण गत साता ८४ अर्ब रुपैयाँ घटेर ४७ खर्ब ५६ अर्ब रुपैयाँमा सीमित भएको छ ।

गत साता १३ उपसमूहमध्ये उत्पादन तथा प्रशोधन समूहको परिसूचक ०.१४ प्रतिशत बढेको छ । बाँकी सबै समूहको परिसूचक घटेको छ । अन्य समूहको परिसूचक सर्वाधिक ३.५४ प्रतिशत घटेको छ ।

गत साता ३ कम्पनीको १० लाख ७१ हजार ९७.२६ कित्ता शेयर नेप्सेमा सूचीकृत भएको छ । मिथिला लघुवित्त वित्तीय संस्था, ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था र ग्रीन डेभलपमेन्ट बैंकको बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।

सातामा पाल्पा सिमेन्ट इण्डष्ट्रीजको शेयरमूल्य सर्वाधिक १०१.०८ प्रतिशत बढेको छ । अघिल्लो साता ४८३ रुपैयाँ १० पैसामा अन्तिम कारोबार भएको सो कम्पनीको शेयर मूल्य गत साता ९७१ रुपैयाँ ४० पैसामा अन्तिम कारोबार भएको छ । शिखर पावर डेभलपमेन्टको शेयरमूल्य पनि १०१ प्रतिशत बढेको छ ।

दोल्ती पावर कम्पनीको शेयरमूल्य सर्वाधिक १४.९२ प्रतिशतले ओरालो लागेको छ ।