भद्रपुरः झापाका छुट्टाछुट्टै स्थानमा आइतबार चट्याङ लाग्दा एक जना घाइते भएका छन् भने दुई पशुचौपाया मरेका छन् ।
मेचीनगर नगरपालिका–१ जिर्मलेमा दिउँसो साढे १२ बजेतिर स्थानीय माधव रिसालको घरको मिटर बक्समा चट्याङ लाग्दा ३८ वर्षीय रिसाल घाइते भएका छन् । चट्याङ लागेर उनको टाउको र आँखामा चोट लागेको छ । घाइते रिसालको अवस्था सामान्य रहेको र उनलाई उपचारका लागि काँकडभिट्टास्थित दीप ज्योति आँखा अस्पताल पठाइएको बताइएको छ ।
चट्याङबाट रिसालको घरको मिटर बक्समा क्षति पुगेको छ ।
सो चट्याङले सोही घर नजिकै रहेको एम राईको खोरमा एउटा माउ सुँगुर मरेको छ ।
उता, झापाकै गौरीगञ्ज गाउँपालिका–२ आँपगाछीमा बिहान ८ बजेतिर चट्याङ लागेर एक गाई मरेको छ । स्थानीय ५२ वर्षीय पलानु राजवंशीको गाई विरीलाल राजवंशीको गाई चराउन खेतमा बाँधिएको ठाउँमा परेको चट्याङ लागेर मरेको प्रहरीले जनाएको छ ।

















