दमकः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झापाको दमकस्थित हिमालय माध्यमिक विद्यालयका प्रधानाध्यापक र लेखापालविरुद्ध ९३ लाख रुपैयाँभन्दा बढी भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको छ ।

दमक नगरपालिका–२ स्थित विद्यालयका प्रधानाध्यापक ओमप्रसाद उपाध्याय आचार्य र लेखापाल दयासागर आचार्यविरुद्ध मुद्दा दायर भएको हो ।

उनीहरुले आर्थिक वर्ष २०७७–७८ देखि विभिन्न शीर्षकमा विद्यालयको रकम हिनामिना तथा दुरुपयोग गरेको अख्तियारको ठहर छ ।

विद्यालय भवन निर्माणमा ठूलो अनियमितता भएको अनुसन्धानबाट खुलेको छ । नमुना विद्यालय भवन निर्माणका क्रममा गरिएको मूल्याङ्कनअनुसार पहिलो तला निर्माणमा जम्मा १ करोड ४८ लाख ५३ हजार रुपैयाँ खर्च देखिए पनि विद्यालयले २ करोड ७ लाख ७९ हजार रुपैयाँ भुक्तानी गरेको पाइएको छ ।

यसरी नक्कली बिल तथा कागजात तयार गरी ५९ लाख २६ हजार रुपैयाँभन्दा बढी भुक्तानी गरिएको पुष्टि भएको आयोगले जनाएको छ ।

त्यतिमात्रै नभई नगद हिनामिना र व्यक्तिगत प्रयोगसमेत गरी कुल ९३ लाख ८३ हजार ३०९ रुपैयाँ बराबरको सरकारी रकम दुरुपयोग गरिएको निष्कर्ष अख्तियारको छ । यो कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गतको कसुर भएको भन्दै आयोगले आज विशेष अदालतमा आरोपपत्र दायर गरेको हो ।