पूर्वी नेपालका चुरे क्षेत्रदेखि मध्य पहाडी भूभागसम्म पाइने काँडे भ्याकुर (Spiny Babbler) नेपालकै पहिचान बोकेको दुर्लभ चरा हो। वैज्ञानिक नाम Turdoides nipalensis भएको यो चरा संसारमै नेपालमा मात्र पाइने एकमात्र स्थानीय (endemic) प्रजाति हो।
काँडे भ्याकुर मध्यम आकारको चरा हो जसको शरीर खैरो रंगको हुन्छ। यसको अनुहारमा सेतो आभा देखिन्छ भने शरीरको माथिल्लो भागमा गाढा खैरो रंगका अस्पष्ट धर्काहरू हुन्छन्। कण्ठ र छातीमा मसिना काला धर्काहरूले यसलाई अझ छुट्टै चिनारी दिन्छन्।
यो चरा मुख्यतः ६०० देखि २१०० मिटर उचाइसम्मका सुक्खा झाडी, काँडेदार बोटबिरुवा र खुला क्षेत्रमा बस्न रुचाउँछ। यद्यपि धेरैजसो मध्य नेपालमा पाइने भए पनि पूर्वी नेपालको सुनसरी जिल्ला अन्तर्गत चुरे क्षेत्रमा पनि यसको उपस्थिति देखिन्छ, विशेषगरी करिब १००० मिटर उचाइ वरपर।

अरू धेरै चराहरू जस्तो घना जंगलमा निर्भर नभई काँडे भ्याकुर केही हदसम्म बिग्रिएको वासस्थानमा पनि बाँच्न सक्छ। तर यो चरा स्वभावले लजालु हुन्छ, सजिलै देखिँदैन, र प्रायः जोडी वा सानो समूहमा झाडीभित्र हामफाल्दै हिँड्न मन पराउँछ।
आहारका रूपमा यसले किराफट्याङ्ग्रा र बीउहरू खान्छ, जसले गर्दा कृषिमा हानिकारक किराहरू नियन्त्रण गर्न यसले अप्रत्यक्ष सहयोग पुर्याउँछ।
अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ IUCN का अनुसार यसको अवस्था ‘Least Concern’ अर्थात् कम चासोको सूचीमा रहे पनि वासस्थान विनाश, सहरीकरण, झाडी सफा गर्ने गतिविधि तथा जलवायु परिवर्तनले यसलाई जोखिममा पारिरहेका छन्।
नेपालको एकमात्र स्थानीय चरा भएकाले काँडे भ्याकुरको संरक्षण अत्यन्त महत्वपूर्ण छ। यसले विदेशी पक्षीविद् र पर्यटकहरूलाई समेत आकर्षित गर्दै इको–टुरिजममा योगदान पुर्याउने क्षमता राख्छ। त्यसैले समयमै यसको संरक्षणमा ध्यान नदिए नेपालको यो अनमोल प्राकृतिक सम्पदा गुम्ने खतरा रहन्छ।

Hem Kishor Mahato (B.Sc. Zoology 3rd year)
Central campus of technology, Dharan


















