इटहरी । आज सार्वजनिक सूचना जारी गर्दै सरकारले आठ वटा विश्वविद्यालयमा रिक्त उपकुलपति नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ ।
त्रिभुवन विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, पोखरा विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालय, कृषि तथा वन विज्ञान विश्वविद्यालय, मध्यमपश्चिम विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय र राजर्षि जनक विश्वविद्यालयमा उपकुलपति पदका लागि दरखास्त आह्वान गरिएको छ ।
आजको मितिबाट १० दिनभित्र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको वेबसाइटमा राखिएको लिंकमा गएर दरखास्त पेश गर्न अनुरोध गरिएको छ । सरकारले जारी गरेको अध्यादेशमार्फत् यी विश्वविद्यालयहरुका पदाधिकारी पदमुक्त भएका थिए ।
उपकुलपति पदका लागि नाम सिफारिश गर्न गठित नाम छनोट तथा सिफारिश समितिले हिजो वैशाख २४ गते एकीकृत कार्यविधि स्वीकृत गरेको थियो । सो कार्यविधि पनि मन्त्रालयको वेबसाइटमा राखिएको जनाइएको छ ।

















